ट्रेन्डिङ

विद्या भण्डारीको स्पष्टोक्ति : ‘म पछि हट्दिनँ, कार्यकर्तालाई आतंकित पार्ने कार्य बन्द होस्’

वीरगन्ज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किसकेको र यसबाट पछि नहट्ने स्पष्ट पारेकी छन् ।

उनले पार्टीभित्र अहिले भइरहेको गुटबन्दी र कार्यकर्तालाई आतंकित पार्ने कार्य तत्काल बन्द गर्नुपर्नेमा जोड दिएकी छन् ।

आफ्नै निवास भंगालमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले महाधिवेशन आउनुअघि नै नेतृत्वको बहस चलाएर कार्यकर्तालाई विभाजित गर्ने प्रयास भइरहेको आरोप लगाइन् । उनले भनिन्, ‘म पछि हट्दिनँ, कार्यकर्तालाई आतंकित पार्ने काम रोकिनुपर्छ ।’ उनले जिल्ला र प्रदेश तहदेखि नै गुटबन्दी सिर्जना गरेर कार्यकर्तालाई बोल्न नदिने र उनीहरूलाई तर्साउने प्रयास भइरहेको समेत खुलाइन् ।

भण्डारीले आफूले पार्टी र महिला आन्दोलनका साथै देशको नेतृत्वसमेत कठिन समयमा गरेको भन्दै अनावश्यक रूपमा विवाद उचाल्न खोजिएकोमा असन्तुष्टि व्यक्त गरिन् । उनले थप स्पष्ट पार्दै भनिन्, ‘दल चाहिँ अनैतिक अखडा हो ? उच्च नैतिकताको मान्छे दलमा आयो भने दल पनि त नैतिकतावान हुन्छ नि । अहिले जसरी कार्यकर्तालाई टेरर गर्ने, बोल्न नदिने र बोलेबापत कारबाही गर्ने भन्न थालिएको छ, यो ठिक छैन ।’

उनले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको र यस विषयमा अध्यक्ष केपी शर्मा ओलीसँग कुरा भएको समेत जानकारी दिइन् । भण्डारीले नयाँ वर्षको आफ्नो वक्तव्यपछि अध्यक्ष ओली चिढिएको समेत सुनाएकी छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै