पर्सा । जिल्ला पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ टाँडीस्थित नेपाल-भारत सीमा नजिकबाट ३० किलो लागुऔषध गाँजासहित एउटा मोटरसाइकल बरामद भएको छ। सोमबार दिउँसो करिब १:४५ बजे नेपालबाट भारततर्फ जाँदै गरेको BR 05 AJ 9070 नम्बरको मोटरसाइकलमा सवार चालक प्रहरीलाई देखेर मोटरसाइकल सोही स्थानमा छाडी फरार भएका थिए।
प्रहरी चौकी पाण्डेपुर पर्साका प्रहरी सहायक निरीक्षक बिनोद प्रसाद यादवको कमान्डमा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साका प्रहरी हवल्दार अनिरुद्र प्रसाद यादवको कमान्डमा खटिएको संयुक्त प्रहरी गस्ती टोलीले उक्त मोटरसाइकललाई रोक्न खोज्दा चालक भागेका थिए। मोटरसाइकलको चेकजाँच गर्दा झन्डै ३० किलोग्राम गाँजा फेला परेको थियो।
बरामद गरिएको गाँजा र मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको छ। फरार मोटरसाइकल चालकको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।