जनकपुरधाम । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढ्दो बेथिति, ब्रह्मलुट, विभेद एवं दलाल दलतन्त्रका कारण देश धरासायी बन्दै गएको गम्भीर आरोप लगाएका छन् ।
आज जनकपुरधाममा आयोजित ‘दलतन्त्रको भण्डाफोर गरौं, गणतन्त्रको दिशामा अघि बढौं’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै साहले मुलुकलाई जोगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका छन्।
साहले अहिलेको सरकारले ल्याएको बजेटले जनताको चाहना र आवश्यकतालाई सम्बोधन गर्न नसकेको भन्दै तीव्र आलोचना गरे । उनका अनुसार, ‘बैदेशिक ऋण बढ्दै गइरहेको छ। यहाँको व्यापार व्यवसाय धरासायी हुँदै गइरहेको छ। तर सरकारले नेपालको पूँजी विदेश लैजाने बाटो खोलेर नेपालको अर्थतन्त्रलाई डुबाउने काम गरेको छ।’ उनले विशेष गरी मानव विकास सूचकांकमा पछाडि परेका मधेश र कर्णाली प्रदेशमा बजेटमा विभेद गरिएको आरोप पनि लगाए ।
साथै, साहले सीमावर्ती क्षेत्रमा प्रहरीले नेपाली जनताको निजी सम्पत्ति लुटिरहेको र नक्कली भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको दाबी गरे । अहिलेको सरकार र गठबन्धन नेपालमा लुटेर विदेशमा नेपालको पूँजी लैजाने वर्गको संरक्षक भएको उनको भनाइ थियो।
आजपा मधेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा भएको यस कार्यक्रममा आजपाका नेताहरू रीता देवी साह, अशोक लामा, बिल्टू यादव, श्रीचन मुखिया, राधेश्याम साह लगायतको सहभागिता थियो।