वीरगन्ज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रत्यक्ष चुनौती दिएका छन्।
उनले पूर्वराजालाई शासन गर्ने चाहना भए जनताको मन जितेर चुनाव लड्न र प्रधानमन्त्री बनेर देखाउन आग्रह गरे। गणतन्त्र दिवसको अवसरमा पार्टीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने मन भए जनताको मन जितेर चुनाव जितेर आएर प्रधानमन्त्री बनेर देखाउन चुनौती दिन्छु।’
उनले मुलुकलाई प्रतिगामी दिशामा धकेल्ने वा इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने प्रयास सम्भव नभएको र त्यस्तो हुन नदिने दृढता व्यक्त गरे। अध्यक्ष नेपालले गणतन्त्रको रक्षाका लागि आफ्नो पार्टीले अग्रगामी भूमिका खेलेको स्मरण गराए। उनले तत्कालीन एमालेभित्र देखिएका विचार र प्रवृत्तिहरू विरुद्ध दृढताका साथ जुटेर गणतन्त्र स्थापनामा योगदान पुर्याएको बताए।
कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीभित्र पनि आँट, हिम्मत र दृष्टिकोण नभएका केही व्यक्तिहरू रहेको स्वीकार गरे। उनले समयअनुसार चल्न नसक्ने मान्छे निराशाको सिकार हुने टिप्पणी गरे।
भ्रष्टाचारविरुद्ध सरकारले ठोस कदम नचालेसम्म परिणाम प्राप्त हुन नसक्ने भन्दै उनले सरकारलाई भ्रष्टाचार नियन्त्रणमा थप सक्रिय हुन आग्रह गरे। उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्नेमा जोड दिँदै ‘हामीलाई वंशको शासन चाहिएको छैन’ भन्ने स्पष्ट पारे। अध्यक्ष नेपालले आम जनतामा कम्युनिस्ट पार्टीप्रति विश्वास दिलाउन र गलत प्रवृत्तिका विरुद्ध जुध्न आह्वान समेत गरे।