वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाले आज आर्थिक वर्ष २०८१/०८२ को लागि विशेष नगर सभा सम्पन्न गरेको छ।
नगर प्रमुख सिंगासन साह तेलीको अध्यक्षतामा सम्पन्न सभाले चालु आर्थिक वर्षका केही योजनाहरूलाई संशोधन गर्दै निष्क्रिय बजेटलाई विकास निर्माणमा खर्च गर्ने बाटो खुला गरेको छ। सभाको मुख्य उद्देश्य चालु आर्थिक वर्षका लागि स्वीकृत गरिएका योजनाहरूको समीक्षा र आवश्यक संशोधन गर्नु थियो।
प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवका अनुसार, सभाले विभिन्न कारणले समयमै सम्पन्न हुन नसकेका योजनाहरूको बजेटलाई अर्को शीर्षकमा स्थानान्तरण गरी योजना संशोधन गरेको छ। यो निर्णयले अलपत्र परेका योजनाहरूको बजेटलाई सदुपयोग गर्दै नगरपालिका क्षेत्रमा विकास निर्माणका कार्यहरूलाई तीव्रता दिन मद्दत पुग्ने विश्वास गरिएको छ।
अब ती बजेटलाई नगर कार्यपालिकाले आवश्यकता अनुसार विकास निर्माणका क्षेत्रमा खर्च गर्नेछ। नगरसभामा नगर उपप्रमुख सुष्मा कुमारी कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, नगर सभा सदस्यहरू, कर्मचारी तथा सर्वसाधारणहरूको उपस्थिति रहेको थियो।