ट्रेन्डिङ

वन संरक्षण अभियानको वनमन्त्रीसँग भेट : रौतहट वन कार्यालयका ‘काण्ड’ छानबिनको माग

जनकपुरधाम । ‘चुरे वनजंगल संरक्षण अभियान’ ले मधेश प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री संजय यादवसँग भेटेको छ ।

सोमबार अभियानका सदस्यहरुले रौतहट डिभिजन वन कार्यालय अन्तर्गतका विभिन्न विवादास्पद घटनाहरूको छानबिन गर्न माग गरेको छ। अभियानले मन्त्री यादवसँग चुरे क्षेत्रको वनजंगल संरक्षणमा रहेका चुनौती र नीति निर्माणबारे सकारात्मक कुराकानी भएको जनाएको छ।

अभियानका राष्ट्रिय संयोजक चुरे अभियन्ता सुनिल यादव, प्रदेश संयोजक अमन यादव र राष्ट्रिय प्रवक्ता पत्रकार प्रमोद साहले वनमन्त्री संजय यादवसँग भेटघाट गरी रौतहट डिभिजन वन कार्यालयका प्रमुख हेमन्त साहको कार्यकालमा भएका गतिविधिबारे चासो व्यक्त गरेका थिए। उनीहरूले प्रमुख साहको कार्यकालमा भएका क्रियाकलापहरूको चाँडै सत्यतथ्य सार्वजनिक हुने विश्वास व्यक्त गरेका छन्।

अभियानले, यदि यस विषयमा सत्यतथ्य सार्वजनिक नभएमा एक हप्ताभित्रै थप कदम चाल्ने चेतावनी दिएको छ। ‘डिभिजन वन कार्यालय रौतहटमा भएको क्रियाकलापको छानबिन गर्नपर्छ नत्र हामी चुरे वनजंगल संरक्षणका निम्ति संघर्ष गर्न बाध्य हुनेछौं, अभियन्ता सुनिल यादवले भने ।

वनमन्त्री यादवसँगको भेटमा चुरे वनजंगल क्षेत्रको संरक्षणमा रहेका चुनौती, वन फँडानी नियन्त्रण र नयाँ नीति निर्माणबारे छलफल भएको बताइएको छ। अभियानले वनमन्त्री यादव चुरे वनजंगल क्षेत्रको संरक्षणमा रहेका चुनौतीको सामना गर्न सफल हुने विश्वास व्यक्त गर्दै उनको कार्यकालको सफलताको लागि शुभकामना दिएको छ। यस भेटघाटले मधेश प्रदेशमा चुरे संरक्षणको मुद्दाले थप प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै