बारा । जिल्लाको प्रसौनी गाउँपालिका वडा नं ५ प्रस्टोस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास सम्पन्न भएको छ।
मधेश प्रदेशका पूर्व मन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले आज एक विशेष कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् ।
नयाँ भवन निर्माणले यस क्षेत्रको शैक्षिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ। शिलान्यास समारोहमा बोल्दै नेता सोनलले शिक्षामा गरिने लगानी नै देशको भविष्यको आधार भएको बताए । उनले यस भवनले विद्यार्थीहरूलाई थप सहज र गुणस्तरीय शैक्षिक वातावरण प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक नाग नारायण साहले नयाँ भवन निर्माणले विद्यालयको भौतिक पूर्वाधार सुधार भई पठनपाठनमा थप सहजता आउने विश्वास व्यक्त गरे । यस भवन निर्माणले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष भोला गुप्ता, पूर्व उपाध्यक्ष गीता देवी साह लगायतका स्थानीय अगुवा तथा राजनीतिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। लोसपाका युवा नेताहरू प्रमोद साह, रामजतन सहनी, नवल साह, जय प्रकाश दास, रमेश साह, बिरेन्द्र साह, दिलिप साह, सोनु साह, लालबाबु साह लगायतको पनि कार्यक्रममा सहभागिता थियो।