ट्रेन्डिङ

वीरगन्जमा विद्यार्थीका लागि प्रेरणा र मानसिक स्वास्थ्य तालिम सम्पन्न

वीरगन्ज । नेपाल इनोभेटिभ सोसाइटीको आयोजना र वीरगन्ज नर्सिङ क्याम्पसको सहकार्यमा आज एक दिने मोटिभेसनल तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिम कार्यक्रममा दुई जना प्रमुख वक्ताले विद्यार्थीहरूलाई जीवनोपयोगी ज्ञान प्रदान गरे। डा. निरज कुमार सिंहले ‘जीवन र त्यो एक घण्टा’ शीर्षकमा समय व्यवस्थापन र उद्देश्यपूर्ण जीवनशैलीका महत्त्वपूर्ण पक्षहरूमाथि प्रकाश पारेका थिए। यसैगरी, डा. प्रीति यादवले ‘सकारात्मक मानसिक स्वास्थ्य जागरूकता’ विषयमा विद्यार्थीहरूलाई सशक्त बनाउने र सकारात्मक सोच विकास गर्ने उपायहरू प्रस्तुत गरिन्।

यी प्रस्तुतिहरूले विद्यार्थीहरूलाई आफ्नो व्यक्तिगत र शैक्षिक जीवनमा सन्तुलन कायम राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज नर्सिङ क्याम्पसकी प्रमुख डा. कल्पना पौडेलले नर्सिङ विद्यार्थी र स्वास्थ्यकर्मीहरूको लागि प्रेरणा र मानसिक स्वास्थ्यको महत्त्वबारे जोड दिएकी थिइन्।

नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष श्री कमल चौगाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष जगत प्रसाद साह कानु, वडा प्रहरी कार्यालय विर्ताका इन्स्पेक्टर निरोज चौलागाई, नेपाल इनोभेटिभ सोसाइटीका सचिव ऋषि राज साट्याल, सह–सचिव तथा लिटिल बड्डी प्रिस्कूलका निर्देशक विजय कुमार बल, नेपाल इनोभेटिभ सोसाइटीकी सदस्य डा. स्वाति गुप्ता र वीरगन्ज नर्सिङ क्याम्पसकी विभाग प्रमुख सबिना अधिकारी लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनमा नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईले उपस्थित सबै अतिथि र सहभागीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। यस कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक जीवनमा मात्र नभई व्यक्तिगत जीवनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। वीरगन्ज नर्सिङ क्याम्पसको प्रांगणमा आयोजित यस कार्यक्रममा करिब १०० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै