वीरगन्ज । मधेश प्रदेश आमसञ्चार प्राधिकरणको आयोजना र नेपाल पत्रकार महासंघ पर्साको समन्वयमा वीरगन्जमा साइबर सुरक्षा र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।
प्रदेश सांसद श्याम पटेलले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रम उद्घाटन गर्दै सांसद पटेलले वर्तमान राजनीतिमा देखिएको विकृति झैं मिडियामा पनि ‘छाडापन’ बढेको टिप्पणी गरे । उनले मिडियाको शक्तिलाई जोड दिँदै पत्रकारहरूलाई जिम्मेवार र गम्भीर पत्रकारिता अपनाउन आग्रह गरे । ‘मिडियाले चाहे हिरो बनाइदिने र चाहे जिरो बनाइदिने हुँदा मिडियाले गम्भीर भएर जिम्मेवार पत्रकारिता गर्नुपर्छ,’ सांसद पटेलले भने ।
उनले पत्रकारिताको विकाससँगै युट्युबरहरूको बढ्दो संख्या र उनीहरूमा देखिएको ‘छाडापन’ले पत्रकारिताको गरिमामा आँच पुर्याइरहेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । समाज सुधार्न सबैको दायित्व भएको र पत्रकारकै कारण समाज बन्ने वा बिग्रने भएकाले पत्रकारहरूलाई निष्पक्ष भएर काम गर्न उनले आग्रह गरे ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले मधेश प्रदेशका सञ्चारकर्मीहरूको उत्थान र वृत्तिविकासका लागि नै प्राधिकरणको गठन भएको बताए । उनले स्वास्थ्य बीमा र दुर्घटना बीमामा छुटपुट भएका पत्रकारहरूलाई पुनः समेटिने जानकारी दिँदै मधेश प्रदेशमा हालसम्म ४ सय पत्रकारको स्वास्थ्य र दुर्घटना बीमा भइसकेको जानकारी दिए । अध्यक्ष खड्गाले पत्रकारहरूलाई चनाखो भएर बीमाको फाइदा उठाउन पनि आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालसहित विभिन्न पत्रकार संघ–संगठनका प्रतिनिधिहरूले मन्तव्य राखेका थिए। अभिमुखीकरणमा साइबर सुरक्षा र एआई सम्बन्धी गहन प्रशिक्षण दिइएको थियो।