ट्रेन्डिङ

नेसपा (गङ्गानारायण समूह) र माओवादी केन्द्रबीच जेठ १२ गते एकता हुँदै

वीरगन्ज । नेपाल समाजवादी पार्टी (नेसपा) को गङ्गानारायण श्रेष्ठ समूहले आगामी जेठ १२ गते नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ।

यसअघि माओवादीसँग एकता गर्ने पूर्वसहमतिबाट अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ समूहले एक्लै माओवादीमा समाहित हुने निर्णय गरेको हो। सह–अध्यक्ष गङ्गानारायण श्रेष्ठ समूहले जेठ ११ गते विस्तारित बैठक बोलाएको छ। यस बैठकले केन्द्रीय समितिको बहुमतबाट पार्टी एकताको निर्णय गर्ने श्रेष्ठले जानकारी दिएका छन्। उनले सिंगो श्रेष्ठ समूह माओवादी केन्द्रसँग एकतामा जाने बताएका छन्।

माओवादी टोली पूर्व–पश्चिम मध्यपहाडी मार्ग केन्द्रित अभियान सम्पन्न गरेर जेठ १० गतेसम्मको कार्यक्रम सकाएपछि जेठ ११ गते काठमाडौँ फर्कनेछन्। त्यसलगत्तै जेठ १२ गते दुई पार्टीबीच एकता घोषणा गर्ने तय भएको छ।

२०८० साल चैत ३ गते महिन्द्र राय यादवसहितको समूहले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो। तर, माओवादी अध्यक्ष प्रचण्डले पार्टीको नामबाट ‘कोष्टमा रहेको माओवादी’ हटाउन सहमत नभएका कारण तत्काल एकता प्रक्रियामा अघि बढ्न नसकिने महासचिव रमेशप्रसाद यादवले बताएका छन्। यसै कारण महिन्द्र राय यादव समूह एकता प्रक्रियाबाट पछि हटेको बुझिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै