वीरगन्ज । बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति अगाडि बढाउन राष्ट्रिय मुक्ति पार्टी नेपाल र नेपाल जनमुक्ति पार्टी बीच पार्टी एकीकरणका लागि छलफल भएको छ ।
के.पि. पालुङवा, सन्जुहाङ पालुङवा, एम.एस. थापा लगायतको नेतृत्वमा रहेको जनमुक्ति पार्टीसँग कार्यगत एकता हुँदै पार्टी एकता सम्मको यात्रा तय गर्न गठित कार्यदलको पहिलो बैठक अत्यन्तै सकारात्मक रुपमा सम्पन्न भएको छ।
बैठकमा राष्ट्रिय मुक्ति पार्टी नेपालका तर्फबाट नेता बुद्धछिरिङ मोक्तान, सन्तोष मेहता, रबिन्द्र कुमार श्रेष्ठ सहभागी थिए भने नेपाल जनमुक्ति पार्टीका तर्फबाट बलदीप राई, पदम जवेगु र लासिम पालुङवा सहभागी रहेका थिए।
बैठकमा समावेशी लोकतन्त्र, पहिचान आधारित संघीयता र बहुलराष्ट्रीयताको आधारमा साझा राजनीतिक दिशातर्फ अग्रसर हुने समझदारी जनाइएको कार्यदल सदस्य संतोष मेहताले जानकारी दिएका छन्।
दुवै पार्टीबीचको आपसी विश्वास र क्रान्तिकारी ध्येयप्रति प्रतिबद्धताले कार्यगत एकता प्रक्रियालाई दृढता प्रदान गर्ने अपेक्षा गरिएको छ। कार्यदलले आगामी दिनहरूमा सहकार्यको रूपरेखा तय गर्दै साझा कार्यदिशा सार्वजनिक गर्ने तयारी समेत गरेको छ।
त्यसको प्रारम्भिक खाका त्यार पार्न बुद्ध छिरिङ मोक्तान र लासिम पालुङवा रहेको दुई सदस्यीय उप समिति पनि बनाइएको छ ।