वीरगन्ज । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई ‘डायबिटिजको बिरामीलाई मिठाई खुवाएको’ संज्ञा दिएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद साहले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘यो नीति तथा कार्यक्रमलाई मैले एक शब्दमा भन्नुपर्दा डायबिटिजको बिरामीलाई मिठाई खुवाएजस्तै हो, राज्यको उच्च ओहोदामा बस्नेहरुले खुलेआम लुट्ने अनि भ्रष्टाचार गरेको पैसा विदेशमा थुपार्ने, अहिलेको मूल प्रवृत्ति भएको छ । लुटको पैसा, भ्रष्टाचारको कालो धन रोक्छौं र फिर्ता ल्याउँछौं भनेर प्रतिबद्धता हुनुपर्दथ्यो । त्यसरी नीति आउनुपर्दथ्यो । तर, यहाँ त ठीक उल्टो भएको छ, खुलेआम लैजानुहोस भन्नेखालको नीति तथा कार्यक्रम देखिन्छ ।’
विदेशमा श्रममा रहेका लाखौं युावहरुले आफ्नो खुन–पसिना चुहाएर कमाएको पैसा नेपाली जनताको लागि हो कि भ्रष्टाचारीहरुको लागि हो भन्दै पूर्वमन्त्री साहले प्रश्न गरे । उनले भने, ‘आज जो युवाले वैधानिक तवरले पैसा पठाउँछ, त्यसको पैसा घट्ने, अनि कालो धनसँग साट्दा त्यो पैसा बढेर गाउँमा पुग्ने, के सरकारलाई थाहा छैन ? नेपाली श्रमिक युवाहरु जतिको संख्यामा विदेशमा हुनुहुन्छ, त्यही अनुपातमा विदेशबाट रेमिट्यान्स आएको छैन भन्ने कुरा त सरकारलाई राम्रोसँग थाहा छ त। यहाँ त नेताज्यूहरुको छोराछोरीको लागि पैसा विदेशमा पठाउनुपर्ने छ, यहाँ लुटेको पैसा विदेशमा थुपार्नुपर्ने छ, त्यो मिलान गर्नको लागि जानी बुझिकन यसरी प्रावधान ल्याउने ?’ उनले नेपाल सरकारले वैधानिक तवरले पैसा पठाउनेहरुलाई कर हटाइदिने र थप सुविधा दिनुपर्ने सुझाव दिए ।