वीरगन्ज । भारत सरकारले पाकिस्तानविरुद्ध सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’ हवाई आक्रमण प्रति मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले एक्यबद्धता जनाएका छन् ।
जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपाली नागरिकसहित २६ निर्दोष सर्वसाधारणले ज्यान गुमाएका थिए । सोही आक्रमणपछि दुई देशबीच तनाव बढेको छ । घटनापछि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो धारणा सार्वजनिक गर्दै भारत सरकार र जनताप्रति गहिरो संवेदना र ऐक्यबद्धता व्यक्त गरेका छन्।
मुख्यमन्त्री सिंहले भनेका छन्, ‘ती व्यक्तिहरू केवल नाम र आँकडा होइनन्—उनीहरू कसैको बाबु थिए, कसैको आमा, छोरी, दाइ, साथी थिए। ती ज्यानहरूसँगै धेरै सपना पनि मरे।’ उनले भारत सरकारको सुरक्षात्मक कदमहरूको समर्थन गर्दै भनेका छन्, ‘जब कुनै राष्ट्र बारम्बार आतङ्कको निशानामा पर्छ, तब प्रतिकार गर्नु अधिकार मात्र होइन, दायित्व पनि हुन्छ। भारतको यी प्रयासहरूलाई हामीले समर्थन गर्नुपर्छ, किनभने आतङ्कविरुद्धको लडाइँ कुनै एक देशको मात्र होइन, हामी सबैको साझा लडाइँ हो।’
सिंहले मधेश प्रदेशले विगतमा भोगेका संघर्षको सन्दर्भ जोड्दै भारतका आम जनताको पीडामा आत्मीयता महसुस हुने बताएका छन्। उनले आतङ्कवादको कुनै धर्म, जात वा सिमाना नहुने उल्लेख गर्दै कायरतापूर्ण आक्रमणलाई मानवता विरुद्धको अपराध करार दिएका छन्। सिंहले भनेका छन्, ‘मधेश भारतको साथमा छ—आज पनि, भोलि पनि, र सदैव।’