ट्रेन्डिङ

मधेशका गृहमन्त्री लेखीद्वारा तीन योजना शिलान्यास, एउटाको अनुगमन

राजविराज । मधेस सरकारका गृहमन्त्री राजकुमार लेखीले एकै दिन तीन वटा योजनाको शिलान्यास गरेका छन् ।

मन्त्री लेखीले सप्तरीको कञ्चनरुप र सप्तकोशी नगरपालिकामा तीन वटा योजनाको शिलान्यास गरेका हुन् भने एउटा योजनाको अनुगमन गरेका छन् । बिहीबार सप्तकोशी नगरपालिका–२ सिद्धिपुरमा मन्त्री लेखीले सांस्कृतिक संग्राहलय र सोही वडामा रहेको स्वास्थ्य चौकी भवनको स्तरोन्नति कार्यको शिलान्यास गरेका छन् । त्यसपछि वडा नम्बर २ कै सत्यनारायण टोलमा निर्माणाधीन रहेको आर.सि.सि ढलान कार्यको अनुगमन समेत गरेका छन् ।

त्यस लगत्तै मन्त्री लेखीले कञ्चनरुप नगरपालिका वडा नम्बर ८ कञ्चनपुरमा रहेको सर्वोदय माध्यमिक विद्यालयको दुई कोठै पक्की भवनको पुननिर्माण कार्यको शुभारम्भ गरेका छन् । मन्त्री लेखीले मधेश प्रदेशमा चर्चामा रहेको कमिसन प्रकरणमा आफ्ना कार्यकर्तालाई नलाग्न निर्देशन दिएका छन् ।

उनले कमिसन माग्ने बिचौलिया वा दलालहरुबाट सजग रहन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिँदै त्यस्ता कार्यमा लागेकालाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायहरुमा डेलिगेशन लिएर जान र घच्घचाउन सुझाव दिए ।
मन्त्री लेखीले आफू र आफ्ना कुनै कार्यकर्ताले कोही कसैसँग कमिसन नलिएको दाबी गर्दै मैले कसैसँग एक रुपैया पनि कमिसन लिएको वा मागेको पाए आजीवन राजनैतिक त्याग गर्ने बताए ।

‘टोलटोलमा मठ मन्दिर र साना योजनाहरु भन्दा ठूलो योजनाहरुमा जोड दिनु पर्ने हो ।’ उनले भने, ‘मधेशमा ३० प्रतिशत जनसंख्या दलितको रहेकोमा निकायहरूमा दलितको पहुँच प्राय शुन्य छ । यो एक खेदजनक र चिन्ताको बिषय हो ।’

मधेश प्रदेशको विनियोजित बजेट अनुसार सांस्कृतिक संग्राहलयलाई २५ लाख रुपैयाँ, स्वास्थ्य चौकी भवनको स्तरोन्नतिको लागि ४० लाख रुपैयाँ, सत्यनारायण टोलको बाटो आर.सि.सि. ढलानको लागि ८० लाख रुपैयाँ छुट्टयाइएको छ । त्यसैगरी सर्वोदय माविको अधुरो भवनको लागि कुल ५० लाख रुपैयाँ बजेट रहेको छ ।

सप्तकोशीको कार्यक्रममा मेयर कृष्ण ढकाल, वडा नम्बर २ का वडा अध्यक्ष जाहिर हुसेन, ३ का अध्यक्ष देवकान्त गोजेवार, वडा नम्बर ५ का अध्यक्ष गोसाई चौधरी लगायत स्थानीयको उपस्थिति रहेको थियो भने सर्वोदय माविमा आयोजित कार्यक्रममा वडा नंम्बर ६ का वडा अध्यक्ष बच्चुलाल चौधरी, पूर्व मेयर वसन्त मिश्र, वडा नम्बर ८ का पूर्व वडा अध्यक्ष राजकुमार साहको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै