काठमाडौं । नेपाल हज समितिले सन् २०२५ मा हजमा जाने हज यात्रीहरुको हवाई उडान तालिका फेरबदल गरेको छ ।
गत वैशाख ८ गते प्रकाशित हवाई उडान तालिका प्राविधिक कारणले संशोधन भएको समितिले जारी गरे सूचनामा जनाइएको छ । गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले जारी गरेको सूचनामा हज यात्रीहरुको उडान र मिति संशोधन गरिएको उल्लेख छ ।
जसअन्तर्गत पहिलो उडान आगामी जेठ ३ गते शनिबार हुने छ । पहिलो उडानबाट सुनसरीका ५२ जना र हज प्रतिनिधिमण्डलका दुई जना, साउदी राजदूतावासका प्रतिनिधि एक जना गरी ५५ जना साउदीको मक्का पुग्नेछन् । त्यसैगरी जेठ ४ गते सुनसरीका १ सय १८ जना र हज प्रतिनिधि १ जना र राजदूतावासका एक जना गरी १ सय २० जना मक्का पुग्नेछन् ।
पर्सा, बारा र रौतहटका हज यात्रीहरुलाई जेठको ७ गते बुधबार उडान तालिका मिलाइएको छ । यस वर्ष पर्साका ७१ जना, बाराका ३८ जना र रौतहटका १ सय २२ जना हज गर्न मक्का जादैछन् ।
सन् २०२५ को हजमा जानको लागि आवेदन गर्नु भएका आवेदकहरुको लागि नेपाल हज समितिले खुल्ला प्रतिस्पर्धाबाट हवाई कम्पनी छनोट गरी उक्त हवाई सेवा प्रदायकले प्रदान गरेको हवाई उडान तालिका बमोजिम नेपालबाट साउदी अरब जाने आउने आउने हजयात्रीहरुको जिल्लागत उडान तालिकालाई संशोधन सहित सार्वजनिक गरेको हो ।
हज यात्रीहरुले हजको लागि आवश्यक भिसा, टिकट तथा खोपको लागि काठमाडौं दरवारमार्गस्थित पञ्चकाश्मिरी ताकियामा आफ्नो उडान मितिको दुई दिन अगावै सम्पर्क गर्न सूचनामार्फत जनाएको छ ।
