वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपाल–भारत सीमानाका थप निगरानी बढाएको छ ।
भारतबाट नेपाल प्रवेश गर्नेलाई सरकारी परिचय पत्र देखाउन अनिर्वाय गरेको छ । वीरगन्ज नाका भएर भारत जान वा भारतबाट नेपाल प्रवेश गर्न सरकारी नागरिकता परिचयपत्र अनिवार्य देखाउनुपर्ने नियम लागु गरेको छ । साथै नाकामा प्रहरीले ‘स्पेशल डग’ परिचालन गरी जाँच गरिरहेको छ ।
पर्साका प्रहरी प्रमुख उपरीक्षक गौतम मिश्रले बुधबार मात्र जिल्लाका सबै नाकाका प्रहरी चौकीलाई सीमानाकामा थप कडाई र सतर्कता अपनाउन निर्देशन दिएका थिए । सो निर्देशनलाई पालना गर्दै नेपाल–भारत सीमानाकामा थप कडाईका साथ निगरानी बढाइएको एसपी गौतम मिश्रले बताए ।
‘सीमानाका भएर लागुऔषधको ओसार पसार पनि भइरहेको छ । हामी सबै हिसावले सतर्कता बढाएका छौँ’ एसपी मिश्रले भने, ‘ अहिले पाकिस्तानी र बंगलादेशी नागरिक वीरगन्ज नाका भएर नेपाल प्रवेश गर्न सक्ने अवस्थाको आकलन गरेर पनि थप निगरानी बढाएका छौँ ।’
भारतको काश्मिर राज्यस्थित पहलगाममा एक नेपालीसहित २७ जनाको आतंकवादीहरुले हत्या गरेपछि उत्पन्न घटनाक्रमलाई मध्यनजर गरी पर्सा प्रहरीले थप सतर्कता बढाएको हो । आतंकवादी हमलापछि दुई छिमेकी राष्ट्र भारत र पाकिस्तानबीच उत्पन्न विवादले एक अर्का देशका नागरिकलाई देश निकाला गरिरहेको अवस्थामा भारत भएर नेपालभित्र पाकिस्तानी र बंगलादेशी नागरिकले प्रवेश गर्न सक्ने स्थितिको आकलन गरी पर्सा प्रहरीले थप सतर्कता अपनाइएको एसपी मिश्रले जानकारी दिए ।