काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ ।
यी ती दुई पार्टीबिच ११ बजेका लागि राजधानीको प्रज्ञा भवनमा घोषणा कार्यक्रम राखिएको थियो तर चौधरी पक्राउ परेपछि आजको घोषण कार्यक्रम स्थगित गरिएको जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले बताए । उनले रेशम चौधरी पक्राउ परेकोमा भत्र्सना गर्दै पार्टी एकता प्रक्रिया नरोकिने बताए ।
‘मधेशी र थारु समुदायको एकता हेर्न नचाहनेले यसमा खेल्न खोजेको हो । तर हाम्रो एकता रोकिँदैन ।’ नेता साहले भने, ‘अब हामी पुनः छलफल गरेर पार्टी एकताको घोषणा गर्न समय तोक्छौँ ।’ नेता साहले मधेश र थरुहट आन्दोलनसँग खेलवाड नगर्न अहिले नेतृत्व गरिरहेको दलहरुलाई सचेत गराए । उनले मधेशी र थारु समुदाय मिलेर एउटा राजनीतिक शक्ति निर्माण गर्न खोज्दा यसलाई तोड्न खोज्ने कार्य बन्द गर्न आग्रह गरे अन्यथा त्यसता शक्तिको विरुद्धमा मधेशी र थारु समुदाय संयुक्तरुपमा आन्दोलनमा उत्रन सक्ने चेतावनी दिए ।