राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरी मातहतका इलाका प्रहरी कार्यालयहरुले जिल्लाको फरक फरक स्थानबाट १ सय ३७ केजी लागुऔषध गाँजासहित दुई वटा अटो नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान सप्तरीको तिरहुत गाँउपालिका वडा नम्बर २ बडहरा स्थित हुलाकी सडक खण्डमा इलाका प्रहरी कार्यालय कंचनपुरबाट प्रहरी निरीक्षक लेख बहादुर विष्टको कमाण्डमा खटिएको गस्ति टोलिले फत्तेपुरबाट डिमन तर्फ जादै गरेको अटो चेकजाँच गर्दा ५८ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
प्र १–०२–००३– ह २९३४ नम्बरको अटो माथि शंका लागि अटो चेक जाँच गर्दा अटो भित्र सेतो पलास्टिकको २ वटा पोका र सेता बोरा भित्र जम्मा ५८ केजी लागु औषध गाँजा बरामद भएको छ ।
पक्राउ पर्नेमा अटो चालक उदयपुरको बेलका नगरपालिका वडा नम्बर ३ मोरङगे टोल बस्ने अन्दाजी ४१ वर्षका जयराम दाहाल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । बरामद गाँजा र अटोसहित पक्राउ परेका दाहाललाई कानून बमोजिम प्रक्रिया गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य भइरहेको डिएसपी बस्नेतले जानकारी दिए ।
यसैगरी प्रहरीले मंगलबार राति करिब पौने १० बजेको समयमा सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर २ बरमझियास्थित पूर्व पश्चिम लोकमार्गबाट करिब ८० केजी लागुऔषध गाँजा र अटो बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कंचनपुरबाट प्रहरी निरीक्षक लेख बहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी गस्ति टोलिलाई देखेर सोही स्थानमा स १ ह १७१६ नम्बरको अटो छाडी चालक फरार भएको सप्तरी प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए ।

उक्त अटो नियन्त्रणमा लिइ चेकजाँच गर्दा अटो भित्र राखिएको ३ वटा बोरा, १ वटा कालो सुटकेस र १ वटा कपडाको रातो झोला समेतमा ७९ केजी ७६ ग्राम लागू औषध गाँजा फेला परेको छ । बारमद गाँजा र अटोसहित नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।