वीरगन्ज । बारा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिकाबाट ठूला परिमाणमा प्रतिबन्धित लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजस्थित प्रहरी कार्यालय अगाडी चेकजाँचको क्रममा प्रतिबन्धित लागु औषध ट्रमाडोलको करिब ३० हजार क्याप्सुलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो साढे ३ बजे इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा चेकजाँचमा खटेको टोलीले वीरगन्जबाट हेटौडातर्फ जाँदै गरेको बिआर ०५ बीए ४८१७ नम्बरको भारतीय कारबाट लागुऔषध ट्रमाडोल हाईड्रोक्लोराइड क्याप्सुल २ हजार ९ सय ६५ पत्ता (प्रत्येक पत्तामा १० वटाको दरले हुन आउने २९ हजार ६ सय ५० ट्याबलेट) बरामद गरेको हो ।
प्रहरीले लागुऔषधसहित कार चालक भारतको मोत्तिहारी जिल्ला अरेराज–११ मल्लाही बस्ने अन्दाजी बर्ष २३ का नितिश कुमार ठाकुर र कारमा सवार वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का २६ वर्षीय सिद्धान्त प्रसाद पटेललाई नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा कार पछाडीको सिट मुनी फल्स बटम बनाई लुकाई छिपाई लगिरहेको अवस्थामा बरामद लागुऔषधसहित नियन्त्रणमा रहेका उनीहरुलाई आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडी बढाइएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।