वीरगन्ज । बाराको कलैया उपमहानगरपालिकामा रहेका एक दर्जन अस्पताललाई मधेशका मुख्यमन्त्रीले बन्द गर्न दिएको निर्देशन विपरित मेयर विनोद प्रसाद साहले अस्पताल सञ्चालन गर्न अनुमति दिएका छन् ।
बाराको कलैयामा शनिबार निजी अस्पताल र क्लिनिकहरुमा अनुगमन गर्दै मापदण्डविपरीत सञ्चालित १२ वटा अस्पताल र क्लिनिकहरु बन्द गर्न मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएको थिए । आइतबार अस्पताल सञ्चालकहरुलाई बोलाएर मेयर साहले स्थानीय सरकारले दिएको अनुमतिमा मुख्यमन्त्रीले हस्तक्षेप गरेको भन्दै आस्पताल सञ्चालन गर्न भनेका छन् ।
स्थानीय सरकारसँग समन्वय नगरि मुख्यमन्त्रीको टोलीले अनुगमन गरेकामा मेयर सिंह आक्रोशित बनेका छन् । ‘शनिबारको दिन स्थानीय सरकारसँग समन्वय नगरि मुख्यमन्त्रीको टोलीले अनुगमन गरेको छ । यो स्थानीय सरकारको कार्य क्षेत्रमा मुख्यमन्त्रीको हस्तक्षेप हो’ मेयर साहले भने, ‘उपमहानगरले अनुमति दिएर ति अस्पतालहरु सञ्चालन भइरहेका छन् मुख्यमन्त्रीले बन्द गर्न मिल्दैन्, मैले सञ्चालन गर्न भनेको छु ।’ मेयर साहले आफूलाई जानकारी नै नदिई र बोलाउँदै नबोलाई अनुमति गरेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उता, अनुगमन टोलीमा रहेका मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले बन्द गरिएका कुनै पनि अस्पताल सञ्चालनमा नरहेको दाबी गरे । ‘बन्द गर्न भनिएका अस्पतालहरु सञ्चालनमा छैन, जो बिरामीहरु पहिलेदेखि त्यहाँ भर्ना भएका थिए उनीहरुको उपचार मात्र भइरहेको छ ।’ अधिकृत ठाकुरले भने, ‘मेयर ज्यूले यस्तो गर्न मिल्दैन, म कुरा गर्छु ।’
शनिबार अनुगमनका क्रममा मापदण्ड पूरा नगरी निजी अस्पताल र क्लिनिकहरु सञ्चालित रहेको पाइएपछि बन्द गर्न निर्देशन दिइएको थियो । निजी अस्पतालहरुले अनुमित नलिएर अस्पतालमा ‘ओटी कक्ष’ सञ्चालन गरिरहेको पाइएको थियो ।
बाराको योगशीला हस्पिटल प्रालि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रालि, कलैया हस्पिटल प्रालि , समाज प्रसुति तथा जेनेरल अस्पताल प्रालि, राजलक्ष्मी रिलिफ हस्पिटल प्रालि, रारा हस्पिटल प्रालि, राजकुमारी पोलि क्लिनिक, न्यु जिवन ज्योति डेन्टल क्लिनिक , राम हेल्थ क्लिनिक , कृष्णा डेन्टल क्लिनिक ,स्टार डेन्टल क्लिनिकलाई र आर्शिवाद अस्पताललाइ बन्द गर्न निर्देशन दिइएको मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जनाए ।
उनका अनुसार तत्लकाल ती अस्पताल र क्लिनिकहरु बन्द गर्न सञ्चालकहरूलाई लिखित पत्र नै दिइएको छ । स्थानीय तहको अनुमति मात्र लिएर १५ शय्याको अस्पताल सन्चालन गरिरहेको कारणले तत्कालै बन्द गर्न निर्देशन दिइएको थियो ।