ट्रेन्डिङ

अख्तियारको फन्दामा परे मधेश मिडिया काउन्सिलका नवनियुक्त अध्यक्ष कमल उपाध्याय

वीरगन्ज । मधेश प्रदेशको मिडिया काउन्सिलको अध्यक्ष पदको सपथ ग्रहण गरेको भोली पल्टै कमल कुमार उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

पचरौता नगरपालिका, बाराले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले उपाध्यायसहित ३ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ । आयोगका अनुसार पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादव र लेखापाल हासिम मियाँ अंसारीले आर्थिक वर्ष २०७७÷०७८ मा भएका दुईवटा ठेक्कामा अनियमितता गरेका छन् ।
ठेक्का नम्बर ०२÷२०७७÷७८ र ठेक्का नम्बर ०३÷२०७७÷७८ को बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा उनीहरूले सोमबार मधेश मिडिया काउन्सिलको अध्यक्ष पदको पदभार ग्रहण गरेका केएस मल्टीपर्पोज प्रालिका अध्यक्ष कमल कुमार उपाध्यायसँग मिलेमतो गरी नगरपालिकाको अभिलेखमा राख्ने प्रयोजनका लागि मात्र स्थानीय प्रभाव दैनिक पत्रिकामा एक प्रति सूचना प्रकाशित गरेको आरोप छ ।

उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा अध्यक्ष उपाध्याय समेतको मिलेमतोमा सो नगरी नगरपालिकामा झुट्टा विवरण पेश गरी तीन लाख ५२ हजार ५ सय ६० रुपैयाँ रकम केएस मल्टीपर्पोज प्रालिलाई भुक्तानी दिएको पुष्टि भएको अख्तियारले जारीको प्रेस विज्ञप्तीमा जनाइएको छ । प्रतिवादीहरु श्याम प्रसाद यादव र हासिम मियाँ अंसारीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूर भएकोले सो रकम बराबर बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र बिगो असूल उपर हुन माग दाबी गरिएको छ ।

साथै केएसका अध्यक्ष कमल कुमार उपाध्यायलाई भुक्तानी लिएको पुष्टि भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूरजन्य कार्यको गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको हुँदा मुख्य कसूरदारहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्याश बमोजिम प्रतिवादीहरु कम्पनी र उक्त कम्पनीका अध्यक्ष कमल कुमार उपाध्यायलाई मुख्य कसूरदार सरह सजाय गरी बिगो असुल उपर हुन माग दाबी गरी मंगलबार बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै