
धनुषा । समाजवादी महिला संघ नेपालको केन्द्रीय महाधिवेशन मधेस प्रदेश राजधानी जनकपुरधाममा हुने भएको छ ।
सङ्गठनको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले यसबारे निर्णय गरेको हो । यहि वैशाख २७ र २८ गते हुने महाधिवेशनमा प्रमुख वक्ता जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव रहने छन् ।
बैठकबाट महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउन आर्थिक उपसमिति, जनपरिचालन उपसमिति तथा प्रचार प्रसार उपसमितिलगायतका उपसमिति गठन गरिएको छ । महाधिवेशनलाई भव्यरुपमा सफल बनाउन केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ ।
संगठनले स्थानीय तह, जिल्ला समितिहरूका साथै चार प्रदेश समितिको अधिवेशन सम्पन्न गरिसकेको छ । यसरी अधिवेशन सम्पन्न गरेका प्रदेशहरूमा कोशी प्रदेश समिति, मधेस प्रदेश समिति, बागमती प्रदेश समिति र लुम्बिनी प्रदेश समिति रहेका छन् । सङ्ठनको महाधिवेशनमा सातै प्रदेशबाट प्रतिनिधि सहभागी हुने बताइएको छ ।
जसपा नेपालले वैशाख मसान्तसम्म अधिवेशन गरिसक्न पार्टीनिकट भ्रातृ संगठनलाई निर्देशन दिएको छ । तोकिएको समयमा अधिवेशन सम्पन्न नगर्ने भ्रातृ संगठनहरूलाई विघटन गरी नयाँ ढङ्गबाट कार्य अगाडि बढाउने निर्णय समेत बैठकले गरेको छ ।