ट्रेन्डिङ

वीरगन्जमा विपद् पूर्व तयारी : मुख्य नाला सफाइमा तीव्रता, नगरप्रमुख भन्छन् – अब वीरगन्ज डुब्दैन

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले यहाँको मुख्य नाला सफाइलाई तिव्र पारेको छ ।

वर्षाको समय नजिकिएको र बजार डुबान हुनबाट बचाउन मुख्य नाला सफाई अनिवार्य रहेकाले हुलाक कार्यालयदेखि भन्सार क्षेत्रसम्मको मुख्य नाला सफाई धमाधम भइरहेको हो ।

छपकैयास्थित पानी प्रशोधन केन्द्रदेखि उत्तरतर्फ सफाइको कम सकेर अहिले दक्षिणतर्फ भन्सारसम्म सफाईको काम चलिरहेको छ ।

महानगर प्रमुख राजेशमान सिंहले वर्षाको समयमा डुबानको समस्या हुन नदिन अहिलेबाटै तयारी स्वरुप मुख्य नाला सफाई गरिएको बताए । मुख्य नाला सफाई सँगसँगै सहायक नाला सफाई समेत भइरहेको पनि उनले जनाए ।

महानगरका तीनवटा स्काभेटर र थप अर्को चेन स्काभेटरको माध्यमबाट नाला सफाईको काम तिब्र पारिएको बनाइएको उनको भनाइ छ ।

स्काभेटरले सफाई गर्न सक्ने ठाउँमा स्काभेटर र स्काभेटरले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाई कार्य हुदैँछ ।

नाला सफाई कार्यको अवलोकन गर्दै महानगर प्रमुख सिंहले नाला सफाईको काम सकिएपछि अब वीरगन्ज डुबानमा नपर्ने विश्वास जनाए ।

‘नालाको आधा भन्दा बढी भाग माटोले पुरिँदा पानी सहज रुपमा बग्न सकेको थिएन,’ महानगर प्रमुख सिंहले भन्नुभयो, ‘सहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नाला सफाई भए मात्रै वीरगंज डुबानबाट बँच्ने भएकाले यसको सफाई प्रमुख प्राथमिकतामा राखेर गरिरहेका हौं ।’

विगतदेखि नै सफाई गरिएकाले गएको दुई वर्षदेखि वीरगंज डुबान मुक्त पारिएको बताउँदै उहाँले अहिले पनि मुख्य नालाको सुरुदेखि अन्तिम बिन्दुसम्मै सफाईको काम चलिरहेको बताए ।

महानगर प्रमुख सिंहले नालामा जथाभावी फोहर नफाल्न पनि नगरबासीलाई आग्रह गरे । ‘सरसफाईमा नागरिक सहभागिता जरुरी छ, महानगरपालिकाले एक्लै गरेर मात्र हुँदैन,’ उहाँले भन्नुभयो,‘नागरिक सहभागिता जरुरी छ, नागरिकमा चेतना र जागरण आवश्यक छ, हामीले जनचेतना फैलाउने काम पनि गर्छौ । पटक–पटक अटेर गरिए कारबाही पनि गर्छौं ।’

मुख्य नाला सफाई गर्न अहिले चार वटा स्काभेटर र २५ जना सफाईकर्मी दैनिक रुपमा खटिरहेको महानगरपालिकाका हरियाली तथा सरसफाई संयोजक जयप्रकाश खेतानले जानकारी दिए ।

मुख्य नालाको निरन्त सफाईले विगत दुइ वर्षदेखि वीरगंज बजार क्षेत्र डुबान मुक्त बनेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै