ट्रेन्डिङ

सर्वदलीय बैठक र उच्च पदस्थ व्यक्तिको अपिलपछि वीरगन्जमा चहलपहल बढ्यो

वीरगन्ज । हनुमान जयन्तीको शोभायात्राको क्रममा दुई समुदायबीच भएको विवाद मत्थर हुँदै गएसँगै वीरगन्ज महानगर क्षेत्र आफ्नो पूरानै लयमा फर्किदै छ । गत शनिबारदेखि उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएपछि वीरगन्जमा चहलपहल बढेको छ । करिब एक हप्तादेखि हुँदै आएको विवादले वीरगन्जको आर्थिक क्षेत्रलाई प्रभावित बनाएको थियो । अहिले दिनचर्या सामान्य बन्दै गएपछि सर्वसाधारणको चहलपहल बढेको छ ।

वीरगन्जमा सामाजिक र सम्प्रदायिक सद्भाव कायम गर्न स्थानीय प्रशासन, राजनीतिक दल तथा समाजका हरेक क्षेत्रका व्यक्तिको पहल र प्रयाससँगै स्थानीय जनताको सहयोग एवं सुझबुझका कारण वीरगन्ज नगरको अवस्था सामान्य बन्दै गएको हो ।

बुधबारको सर्वदलीय बैठक, मुलुकका उच्च पदस्थ एवं प्रतिष्ठित व्यक्ति, वीरगन्ज महानगरका ३२ वटै वडाका अध्यक्ष, धार्मिक सङ्घसंस्था, वीरगन्ज उद्योग वाणिज्य सङ्घलगायत नागरिक समाजले वीरगन्जमा सामाजिक एवं धार्मिक सद्भाव कायम गर्न अपिल गरेको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै क्षेत्रको साथ, सहयोग र सद्भावनाका कारण नगरको अवस्था सामान्य हुँदै गएको बताउँदै शान्ति सुव्यवस्था कायम गर्न सक्रिय भूमिका निर्वाह गरेका सबैमा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।

वीरगन्जलाई गत चैत ३० अघिकै अवस्थामा ल्याउने प्रयास जारी भएको बताउँदै उनले गत सोमबारदेखि जुलुस, प्रदर्शनलगायत गतिविधिमाथि लगाइएको प्रतिबन्ध यथाशीघ्र हटाइने जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै