काठमाडौं। चर्चित मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
प्रसाईको सचिवालयले बिहीबार राति सामाजिक सञ्जालमार्फत यो जानकारी सार्वजनिक गरेको हो।
सचिवालयले जारी गरेको भनाइमा उल्लेख गरिएको छ, “२ घण्टा अगाडि हाम्रो अभियानका संयोजक श्री दुर्गा प्रसाईले आफ्नो सुरक्षाका लागि भारतको आसाम राज्यमा प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ।”
सचिवालयका अनुसार, आत्मसमर्पणको निर्णय उनीमाथि लागेको ज्यानको सुरक्षाको खतरा र हालको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै लिइएको हो।
यसअघि प्रसाईले एक भिडियो सन्देशमार्फत आफूलाई सुरक्षा प्रत्याभूति दिइए २४ घण्टाभित्र उपस्थित हुने बताएका थिए।
सचिवालयका दाबी अनुसार उनले उक्त प्रतिज्ञा अनुसार नै उपस्थित भएर आत्मसमर्पण गरेका हुन्।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोप प्रसाईमाथि लागेको छ।
घटनामा उनले आफैँले गाडी चलाउँदै प्रहरीले भाग्न खोज्दा किच्ने प्रयास गरेको आरोप छ। सो दिनको भिडन्तमा दुई जनाको ज्यान गएको थियो भने घटनापछि उनी फरार भएका थिए।
हालसम्म नेपाली सुरक्षा निकाय वा सरकारका तर्फबाट भने प्रसाईले भारतमा आत्मसमर्पण गरेको बारे कुनै औपचारिक पुष्टि गरिएको छैन। घटनापछि उनी भारत भागेको आशंका पहिले देखिनै गरिँदै आएको थियो।
आफ्नो अभिव्यक्तिका कारण निरन्तर विवादमा रहेका प्रसाईको यो कदमले राजनीतिक र कानुनी रूपमा थप तरंग ल्याउने संकेत देखिएको छ।