ट्रेन्डिङ

बारा फेटामा लागु औषध तस्करी प्रयास विफल: ट्र्याक्टरको तेल ट्याङ्कीभित्र लुकाइएको ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

बारा । बारा सीमावर्ती क्षेत्रमा सक्रिय लागु औषध तस्करहरू दिनानुदिन नयाँ -नयाँ तरिका अपनाउँदै तस्करीको प्रयास गरिरहेका छन्।

यस्तै एक प्रयासलाई बारा प्रहरीले जिल्लको फेटा गाउँपालिकाबाट विफल पार्न सफल भएको छ।

विशेष सूचनाको आधारमा निगरानीमा राखिएको एक ट्र्याक्टर जाँच गर्ने क्रममा १५८ ग्राम ९१० मिलिग्राम खैरो ब्राउन सुगर जस्तो देखिने लागु औषध बरामद गरिएको हो।

प्रहरीका अनुसार बाराबाट खटिएको टोलीले फेटा गाउँपालिका–३ चौतारास्थित सडक खण्डमा ना ३ त ४७१४ नम्बरको ट्र्याक्टरलाई रोकी जाँच गरेको थियो। प्रारम्भिक जाँचमा केही आशंका लागेपछि इन्धन ट्याङ्की खोल्दा प्लास्टिकमा बेरिएको अवस्थामा उक्त लागु औषध फेला परेको हो।

तस्करीमा संलग्न दुई भारतीय नागरिक पक्राउ

लागु औषध ओसारपसारमा संलग्न रहेको आरोपमा ट्र्याक्टर चालक ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई प्रहरीले पक्राउ गरेको छ।

दुवै जना भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर- २ का बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा भारतबाट नेपाल भित्र्याइएको उक्त लागु औषध कुनै नेटवर्कमार्फत नेपालमा बिक्री वितरण गर्ने योजना रहेको शंका गरिएको छ।

सीमा क्षेत्रमा तस्करी बढ्दो, प्रहरीको निगरानी कडा

नेपाल–भारत खुला सीमाका कारण लागुऔषध तस्करी गर्ने गिरोहहरू सक्रिय हुँदै गएका छन्।

बाराजस्ता सीमावर्ती जिल्लाहरू लागू औषध तस्करीको संवेदनशील नाका बन्दै गएका छन्।

त्यसैले यस्ता गतिविधिलाई रोक्न प्रहरीले सीमा क्षेत्रमा विशेष निगरानी र चेकजाँच अभियान तीव्र बनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार, “सामान्य सवारीसाधन प्रयोग गरेर तेलको ट्याङ्की, सिटमुनि वा अन्य लुकाउने स्थानहरूमा लागु औषध ल्याउने प्रवृत्ति बढिरहेको छ। यस्ता घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गरिनेछ।”

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै