रौतहट । रौतहट प्रहरीले लागुऔषध गाँजा र हतियारसहित एकजनालाइ पक्राउ गरेको छ ।
प्रहरीले रौतहटको गरुडा नगरपालिका–४ स्थित झोलुङ्गे पुलको पश्चिमबाट १०९ किलो लागुऔषध गाँजा र हतियारसहित एक युवकलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति रौतहटको गरुडा नगरपालिका–४ बस्ने २१ वर्षीय उत्तम साह रहेका छन ।
ईश्वरपुर नगरपालिका–१ स्थित झोलुङ्गे पुल नजिकैबाट लागुऔषध गाँजा भारततर्फ ओसारपसार हुँदैछ भन्ने प्रहरीलाइ आएको जानकारीपछि सादा पोशाकमा खटिएको टोलीले साहलाई शंकास्पद अवस्थामा रोकी जाँच गरेको थियो।
सोही क्रममा प्रहरीले साहले बोकेको कालो झोलाबाट ८ एमएम केएफ लेखिएको तीन राउण्ड गोलीसहितको लोडेड कटुवा पेस्तोल र एकथान मोबाइलसमेत बरामद गरेको छ ।
पक्राउ परेका साहलाई लागुऔषध तथा हातहतियार सम्बन्धी मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
भने घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास पनि भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।