अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप प्रतिबन्ध तथा कर लगाउने चेतावनी दिएका छन् । रुसले शुक्रबार युक्रेनमा बमबारी गरेकाले उनले यस्तो चेतावनी दिएका हुन् ।
सामाजिक सञ्जाल प्लेटफर्ममा स्टाटस लेख्दै उनले लेखेका छन्, ‘रूसले अहिले युद्धभूमिमा युक्रेनलाई पूर्ण रूपमा आक्रमण गरिरहेको छ । म युद्धविराम र शान्ति सम्झौतामा पुग्न नसकेसम्म रूसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी लगाउने बारेमा दृढतापूर्वक विचार गरिरहेको छु ।’
रूस र युक्रेन, अब वार्ताको टेबलमा आउनुहोस्,’ उनले लेखेका छन् । ट्रम्पको धम्की यस्तो समयमा आएको हो, जब रुसले शुक्रबार युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।
केही दिनअघि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको विवादपछि ट्रम्प प्रशासनले युक्रेनसँग अमेरिकी सैन्य सहायता वितरण र गुप्तचर आदान प्रदानमा रोक लगाएको थियो ।
नेशनल इकोनोमिक काउन्सिलका निर्देशक केभिन ह्यासेटले ट्रम्पको धम्की कूटनीतिक रणनीतिको हिस्सा भएको बताए । ‘राष्ट्रपति ट्रम्प अडिग छन् कि हामीले सबैलाई टेबुलमा ल्याउनुपर्छ । उहाँले सबैसँग कुरा गर्दै हुनुहुन्छ,’ ह्यासेटले पत्रकारहरूलाई बताए ।