ट्रेन्डिङ

रौतहटको १० निजी अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन, १० वटै अस्पताल अवैध

तत्काल बन्द गर्न निर्देशन

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको गरुडा नगरपालिकामा अनाधिकृत तवरले सञ्चालित अस्पतालरहरूमा अनुगमन गरेका छन ।

मुख्यमन्त्री सिंहले आज गौरस्थित निजी अस्पताल अनुगमनक्रममा १० वटै अस्पताल वैध ढङ्गले सञ्चालन नभएका पाएपछि तत्कालै सबै अस्पताल बन्द गर्ने निर्देशन दिएका हुन।

मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएका नौवटा अस्पताल गरुडा नगरपालिका वडा नम्बर -४ मा र एक अस्पताल वडा नम्बर ५ का छन् ।

प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोष ठाकुरका अनुसार गरुडा नगरपालिका वडा नम्बर -४ का अरुण सिटी हस्पिटल प्रालि, अनामिका हस्पिटल प्रालि, श्री नेत्रज्योति आँखा हस्पिटल प्रालि, श्री गौर आँखा अस्पताल, श्री गरुडा अस्पताल प्रालि, रोमा हस्पिटल प्रालि, होप हस्पिटल प्रालि, सनसिटी हस्पिटल प्रालि र श्री सरस्वती हस्पिटल प्रालि तथा गरुडा नगरपालिका वडा नम्बर -५ स्थित आनन्द हस्पिटल प्रालिलाई मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएका हुन् ।   

सेवा सञ्चालन अनुमति नलिएका, त्यस्तो अनुमति लिए पनि चार–पाँच वर्षयता नवीकरण नगराएका र कानुनी प्रावधानविपरीत निर्धारित सँख्याभन्दा बढी शय्याको अस्पताल सञ्चालनमा रहेकोले ती अस्पतालहरुलाइ बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

जनस्वास्थ्य नियमावली २०७७ अनुसार मापदण्ड पुरा नगरी सञ्चालनमा आएका ती अस्पताललाई बन्द गर्न अनुगमन टोलीले पत्र दिएको जनाइएको छ ।

२५ शय्यादेखि दुई सयसम्म प्रदेश सरकारले र दुई सय शय्याभन्दा माथि सङ्घ सरकारले अस्पताल सेवा सञ्चालन स्वीकृति दिने व्यवस्था छ ।

स्थानीय तहलाई विशिष्टीकृत अस्पतालको सेवा सञ्चालन अनुमति दिने अधिकार छैन ।

तर, कानुनविपरीत कतिपय स्थानीय तहले अधिकार क्षेत्रभन्दा बाहिर गएर तोकिएको १५ शय्याभन्दा बढी क्षमता र विषयगत अस्पताल सञ्चालन अनुमति दिएको अनुगमनक्रममा मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै