ट्रेन्डिङ

सात दिनभित्र विवरण बुझाउन यी ३ मन्दिरलाई वीरगन्ज महानगरको पत्र

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले यहाँका धार्मिक आस्थाका केन्द्रहरूमा देखिएको बेथितिको जाँचबुझ गर्न आवश्यक विवरण माग्दै ती धार्मिक केन्द्रहरूलाई पत्र पठाएको छ ।

महानगरपालिकाले वीरगन्जका मठ, मन्दिर, चैत्य, गुम्बा, मस्जिदलगायत धार्मिक संस्थाहरूलाई ७ दिनभित्र आवश्यक विवरण बुझाउन पत्र काटेको हो ।

नगरप्रमुख राजेशमान सिंहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै धार्मिक केन्द्रहरूको सञ्चालनमा पारदर्शिता नभएको र आर्थिक व्यवस्थापनमा अनियमितता हुनसक्ने आशंका व्यक्त गरे ।

उनले धार्मिक स्थलहरूको सुशासन, पारदर्शिता र कानुनी व्यवस्थापन सुनिश्चित गर्न कदम चाल्नु आवश्यक रहेकोमा जोड दिए ।

पत्रमा मन्दिर तथा धार्मिक स्थलहरूको सञ्चालक समिति गठन प्रक्रिया, समितिको विस्तृत विवरण, मन्दिर दर्ताको प्रमाणपत्र, दर्ता भएको निकाय, मन्दिरको विधान, आम्दानी/खर्च विवरण, बैंक स्टेटमेन्ट, खाता नम्बर र सम्बन्धित बैंकको नाम पेश गर्न अनुरोध गरिएको छ ।

महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकारका अनुसार, धार्मिक सम्पदाहरूको पारदर्शी व्यवस्थापनका लागि महानगरले विशेष ऐन समेत तयार पारेको छ ।

उनका अनुसार गहवामाई मन्दिर, महावीर मन्दिर, गीता मन्दिर लगायतका प्रमुख धार्मिक केन्द्रहरूमा पत्र पठाइएको छ भने अन्य धार्मिक स्थलहरूको विवरण संकलनको तयारी भइरहेको छ ।

‘महानगरभित्र रहेका सबै सम्प्रदायका धार्मिक स्थलहरू पारदर्शी र व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्छ,’ ताम्राकारले भने, ‘त्यसैले हामी कडाइका साथ यस प्रक्रियालाई अघि बढाइरहेका छौं ।’

यो कदमले वीरगंजका धार्मिक स्थलहरूलाई आर्थिक र प्रशासनिक रूपमा व्यवस्थित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । साथै, श्रद्धालुहरूको विश्वासलाई मजबुत बनाउँदै धार्मिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने महानगरको योजना रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै