ट्रेन्डिङ

सप्तरी प्रहरीको ‘अप्रेसन गोदाम’ : ८ घण्टाको छापामारीबाट २४ सय १९ किलो गाँजा बरामद, मालपोतबाट जग्गाधनी खोजिने

सप्तरी । सप्तरीको राजविराजस्थितको गोदाममा भएको छापामारीबाट ठूलो परिमाणमा लागु औषध गाँजा बरामद भएको छ ।

संयुक्त प्रहरी टोलीले गरेको छापामारीबाट २४ क्वीन्टल भन्दा बढी लागु औषध गाँजा बरामद भएको हो ।

जिल्लाको राजविराज नगरपालिका वडा नम्बर–९ मलेठ स्थितको गोदामबाट प्रहरीले २४ सय १९ किलोग्राम लागु औषध गाँजा बरामद गरेको सप्तरी प्रहरी प्रमुख डकेन्द्र खतिवडाले बताए ।

उनका अनुसार योसंगै प्रहरीले भन्सार छलीको आशंकामा १४२ कार्टुन स्याउसमेत बरामद गरेको छ । विशेष सूचनाको आधारमा उक्त गोदाममा प्रहरीले छापा मारेको जनाइएको छ ।

गोदाममा प्रहरीले ८ घण्टा बढी अप्रेसन चलाएको प्रहरी प्रमुख खतिवडाले बताए ।

उनी भन्छन्, ‘गोदामको कुनै भागमा कपडा, कुनै भागमा स्याउ त कुनै भागमा चामलको भुजा राखिएको थियो, कपडा निकाल्दै तौल गर्दा बढी समय लागेको हो । तर सप्तरी प्रहरीको यो ठूलो अप्रेसन हो ।’

बरामद सबै सामान आवश्यक कारबाही तथा अनुसन्धानको लागि सप्तरी प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

गोदामको सञ्चालकबारे जानकारी प्राप्त नभएकोले भोली जग्गाको धनी खोज्ने काम मालपोत तथा नापी कार्यालयबाट गरिने सप्तरी प्रहरीले जनाएको छ ।

मालपोत तथा नापी कार्यालयबाट जग्गाधनीको विवरण आइसकेपछि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने सप्तरी प्रहरी प्रमुख खतिवडा बताउँछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै