वीरगन्ज । आफ्नै साथीको हत्या गरेको आरोपमा पर्साबाट तीन जना पक्राउ परेका छन् ।
प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर-२७ का इशाल प्रसाद कुर्मीको हत्या गरेको आरोपमा तीन जनालाइ पक्राउ गरेको हो । बिहीवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले पक्राउ गरेका तीनैजनालाइ सार्वजनिक गरेको छ ।
प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर-२७ बस्ने मुकेश प्रसाद यादव, अरुणकुमार यादव र मुन्ना तिवारीलाई सार्वजनिक गरेको हो ।
के हो घटना ?
गएको ७ फागुनमा उनको हत्या भएको थियो । साथीलाइ सापटी दिएको पैसा फिर्ता माग्दा कुर्मीको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पर्सा प्रहरी प्रमुख गौतम मिश्रले सापटी दिएको ३५ सय रुपैयाँ फिर्ता माग्दा आफ्नै साथीले कुर्मीको हत्या गरेको पाइएको जनाए ।
उनका अनुसार ८ दिन अगाडि तास खेल्दा मृतक कुर्मीले सापटी दिएको ३५ सय रुपैयाँ साथी मुकेश प्रसाद यादवसंग मागेका थिए ।
तर पैसा दिन उनले आनाकानी गरेपछि यही पैसाको विवादले उग्ररुप लियो । त्यसपछि कुर्मीको हत्या भएको पाइएको प्रमुख मिश्र बताउँछन ।
पक्राउ परेकाहरुले प्रहरीमा बयान दिएका छन, ‘यो पैसा माग्दा मुकेस तासमा पनि हारि रहेका थिए, त्यसपछि दुबैजनामा विवाद हुन थाल्यो ।अनि मुकेसले मृतक कुर्मीलाइ नजिकै रहेको रुखमा बजार्न थाले । त्यसपछि उनी बेहोस भए । मृतक बेहोस भएपछि मुकेसले साथीहरुको सहयोगमा नजिकैको खोलामा लगेर फ्यालिदिए ।’
हत्याको पाँचदिन पछाडि प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर-२८ स्थित भेडैया खोलाबाट शव फेला पारेको थियो ।
छोरा सम्पर्कविहीन भएको भन्दै परिवारजनले खोजविनका लागि प्रहरीमा निवेदक दिएका थिए ।
त्यसपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा तीनैजनालाइ पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख मिश्रको भनाइ छ ।
पक्राउ परेकाहरुमाथि ज्यान सम्बन्धी कसुरमा म्याद थप भइ अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।