सप्तरी । कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव गाँउबाटै लखेटिएका छन् । खानेपानीका उपभोक्ताले सचिव रोशन गुप्तालाई गाँउबाटै लखेटेका हुन् ।
बिहिवार बिहान कञ्चनरुप नगरपालिका वडा नम्बर ८ पासमान टोलमा धाराको कनेक्सन हटाउनको लागी कर्मचारी र कामदार सहित पुगेका खानेपानी संस्थाका सचिव गुप्तालाई खानेपानीको स्थानीय उपभोक्ताहरुले लखेटेका हुन् ।
कञ्चनरुप वडा नम्बर ८ का प्रदीप पासमानका अनुसार सचिव गुप्ताले हामीहरुसंग प्रती परिवार ५ हजार रुपैँयाका दरले बुझाए मात्रै खानेपानीको आपूर्ति दिने नभए आपूर्ति बन्द गरि दिने भन्दै आईरहेको थियो। उपभोक्ताहरुले नियम बिपरित कुनै पनि रकम नतिर्ने भनी प्रतिवाद गरिरहेकै बेला गुप्ताले हाम्रो कनेक्सन काट्न आएको स्थानीय मुरली पासमानले बताए ।
कनेक्सन काट्न जनशक्ति सहित पुगेका सचिवलाई “बिधानमा केवल ५ सय ५२ रुपैयाँमात्रै लिन पाइने व्यवस्था छ ,तर तपाईंले किन ५ हजार लाग्छ भन्नू हुन्छ ?” भन्दै स्थानीय केही युवाहरूले खानेपानी संस्थाको बिधान देखाउदै प्रश्न गरे ।
खानेपानी संस्थाको बिधानमै ५ सय ५२ रुपैयाँ लिई खानेपानीको नयाँ कनेक्सन जडान गर्ने प्रष्ट ब्यबस्था रहेको छ । तर खानेपानीका कार्य समितिले प्रती उपभोक्ता ५ हजार देखि दस हजार रुपैयाँसम्म गरि खानेपानीको उपभोक्ताहरु संग करोडौं रकम असुल गर्ने गरेको छ।