वीरगन्ज । पर्साको विन्दवासिनीमा एकजना महिलाको बेवारिसे शव फेला परेको छ ।
पर्सा प्रहरीले सोमबार विहान एक विज्ञप्ति जारी गर्दै तिलावे पुलमा फेला परेको महिलाको शवको बारेमा जानकारी दिएको छ । प्रहरीले बहुदरमाइ नगरपालिकाको वडा नम्बर–४ मा नामथर र ठेगाना खुल्न नसकेको महिलाको शव फेला परेको जनाएको छ ।
खोलाको किनारामा तैरिरहेको अवस्थामा फेला परेको उक्त महिला अन्दाजी २०÷२५ वर्षको रहेकी प्रहरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
तीन दिन अगाडि फेला परेको शवको सनाखत गर्ने व्यक्ति फेला पर्न नसकेपछि प्रहरीले मृतकलाई चिन्ने जोसुकैलाई प्रहरीमा सम्पर्क गर्न आग्रह गरेको छ ।
मृतकको हुलियासहितको फोटो राखेर प्रहरीले सनाखतमा सहयोग गरिदिनको लागि अपील गरेको छ । जारी गरिएको विज्ञप्तिमा ५ फिट १ इन्च लम्बाइ भएकी मृतक महिलाले हरियो, सेतो रंगको जम शुट लगाएकी तथा कपाल बाक्लो रहेको उल्लेख गरिएको छ ।
यसैगरी शारीरिक अवस्था मध्यम रहेको तथा साम्लो रंगको गोलो अनुहार भएकी उक्त महिलाको बनावट रहेको प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रहरीले यो महिलालाई पहिचान गर्न सक्ने आफ्नो ९८५५०९०१३६ सहितका नम्बरहरु सार्वजनिक गरेको छ ।