वीरगन्ज । नेपाल–भारतको वीरगन्ज सीमामा स्रोत नखुलेको रकम पक्राउ गर्ने प्रहरीमा होडबाजी चलेको छ ।
खासगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीमा यो होडबाजी चलेको पाइएको छ ।पछिल्ला केही घटनाक्रमले सीमाको सुरक्षा तथा अपराध रोकथामका लागि खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी दुइवटै निकायले यो होडबाजीमा अग्रसर रहेको देखिन्छन् ।
आर्थिक अपराध रोकथाम तथा अनुसन्धानको स्पेसल जिम्मेदारी नेपाल प्रहरीलाई भएतापनि पछिल्लो समय सशस्त्र प्रहरीले पनि यो मामिलामा आफ्नो उपस्थिति दर्ज गराउन खोजिरहेको देखिन्छ ।
स्रोत नखुलेको रकम बोक्न नपाइने नियम छ । यही नियमको आडमा पर्सा प्रहरी र सशस्त्र प्रहरीले अस्पतालमा ल्याउन लागेको पैसासमेत पक्राउ गरी हुण्डी कारोवारीको तग्मा थमाउने काम गरिहेको पाइन्छ ।
सशस्त्र प्रहरी अझ बढी तम्सिएको घटनाक्रमले देखाइरहेको छ । तर घतलाग्दो कुरा के छ भने जे आरोप लगाएर सशस्त्र प्रहरीले पक्राउ गरिरहेको छ, त्यही आरोपबाट उन्मुक्ति दिलाउने काम पनि गरिरहेको छ ।
हुण्डी कारोवारीलाई अनुसन्धान गरेर थप सजायको व्यवस्था गराउने नेपाल प्रहरीलाई छ । तर यहाँ सशस्त्र प्रहरीले हुण्डी कारोवारीलाई पक्रेको भनेतापनि त्यसलाई कारबाहीका लागि भन्सार वा राजश्व कार्यालयमा पठाउने गरेको सशस्त्र प्रहरी भन्सारका प्रमुख डिएसपी लोकेन्द्र सुब्बाले बताए ।
उनले भने, ‘भन्सारका कर्मचारीहरुले भन्सार एरियाबाट पक्राउ परेको हुनाले भन्सारले नै कारबाही गर्छ भन्यो, हामीले पनि त्यही अनुसार कारबाहीका लागि भन्सार कार्यालयमा बुझायौं ।’
यद्यपी, नेपाल प्रहरीले भने हुण्डी कारोवारी पक्राउ परेपछि त्यसको अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीको हुने गरेको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले बताए ।
यो घटनाले पर्सा प्रहरी र सशस्त्र प्रहरीबिच टकराब रहेको छताछुल्ल भइरहेको सजिलै प्रमाणित भइरहेको छ ।
कारण–सशस्त्र प्रहरीले पक्राउ गरेको हुण्डी कारोवारीलाई थप अनुसन्धानका लागि बुझाउनु पर्ने हो पर्सा प्रहरीलाई, तर आन्तरिक विवाद रहेकै कारणले प्रहरीको जम्मा नलगाएर भन्सार कार्यालयमा बुझाइएको देखिन्छ ।
त्यति मात्रै होइन । एउटा निकायले स्रोत नखुलेको रकमसहित कसैलाई नियन्त्रणमा लियो भने अर्को निकायले पनि त्यसलाई चुनौती दिनका लागि कसैलाई पक्राउ गर्नुपर्ने अवस्था सृजना भएको छ । जसको मारमा सर्वसाधारण परिरहेको गुनासा छन् ।
यसलाई अझ सरल हिसाबमा बुझौं ।
दुइ साता अगाडि पर्सा प्रहरीले ७ लाख रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको थियो । स्रोत नखुलेको रकम फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जारी गरेको आफ्नो विज्ञप्तिमा उल्लेख गरेको थियो ।
अर्थात् प्रहरीले २३ माघमा स्रोत नखुलेको रकमसहित विन्दवासिनीका अजयकुमार साहलाई पक्राउ गरेको थियो भने पाँच दिन अगाडि मात्रै अर्को व्यक्तिलाई पनि हुण्डी रकमसहित नियन्त्रणमा लिएको थियो ।
यही ४ गते पर्सा प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारत विहारको नेहाल कुमारलाइ पक्राउ गरेको थियो ।
यसरी दुइ सातामै पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित दुइजनालाई पक्राउ गरेपछि सशस्त्र प्रहरी बल पर्सालाई चुनौती थपियो ।
त्यसपछि सशस्त्र प्रहरी बल पर्साले पनि पर्सा प्रहरीलाई देखाउनका लागि उसले पक्राउ गरेको पाँच दिन नबित्दै आज (शनिबार) विहान एकजनालाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको छ ।
विहारको रक्सौलबाट चार लाख रुपैयाँ बोकेर वीरगन्जतर्फ आइरहेका रक्सौल निवासी कन्हैया कुमार गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यसपछि सशस्त्र प्रहरीलाइ आएको सूचना बमोजिम उसको खानतालासी गर्न थाल्यो, जहाँबाट चार लाख रुपैयाँ फेला प¥यो ।
गुप्ताको साथबाट चार लाख रुपैयाँ फेला पर्न साथ सशस्त्र प्रहरीले एक तस्बिर लिँदै हुण्डी कारोवारी पक्राउ परेको समाचार बाहिर ल्यायो ।
यी दुइवटा घटना त केही उदाहरण मात्रै हुन । पछिल्लो समय त पर्सा प्रहरी सशस्त्र प्रहरीमा यो होडबाजी चलेको कैयौं उदाहरण छन् ।
यी होडबाजीमा अवैध हुण्डीको रकम भन्दै भन्सार वा सीमाबाट वीरगन्ज प्रवेश गर्नेलाई नियन्त्रणमा लिने काम भइरहेको छ ।
पर्सा प्रहरीका जिम्मेवारी सम्हालिसकेका एक प्रमुखका अनुसार पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र गरी दुइवटै निकायमा लडाइँ चलिहरेको देखिन्छ ।
उनी भन्छन्, ‘खासगरी हुण्डी रकम समाउने कुरामा दुइवटै निकायबिच होडबाजी चलिरहेको छ, एउटा निकायले पक्राउ गरेपछि अर्को निकायलाई पक्रिनुपर्ने बाध्यता आइपरेको छ । जुन गलत हो ।’
उनका अनुसार हुण्डी कारोवारीलाई त कसैले छोड्नु हुँदैन । ‘तर, असपतालमा विरामीको उपचारमा ल्याउन लागेका तीन लाख, चार लाख पनि पक्राउ गर्ने होइन नि त । त्यो त मान्छे विरामीलाई डिपोजिट गर्नको लागि पनि ल्याइरहेका हुन्छन् नि,’ उनले भने ।
त्यसकारण यो सब दृश्यले नेपाल प्रहरी र सशस्त्र प्रहरीबिचको होडबाजीको चलेको पुष्टि गरिरहेको उनको बुझाइ छ ।
यद्यपी, भन्सार कार्यालयका सशस्त्र प्रहरीका डिएसपी सुब्बाले आफूहरु नियमसंगत काम गरिरहेको बताउँछन् । उनका अनुसार नेपाल प्रहरीसंग सम्बन्धित नभएकोले भन्सार कार्यालयमै पक्राउ परेका हुण्डी कारोवारीलाई बुझाइएको हो ।
प्रहरी स्रोतका अनुसार हुण्डी कारोवारीको नाममा अहिलेसम्म परेकामध्ये केहीब बाहेक अधिकांश कारबाही बिनै रिहा भएका छन् ।