ट्रेन्डिङ

मुख्यमन्त्री सिंहले जनकपुरका अस्पतालहरुको बारे गरे डरलाग्दो खुलासा, भने– एनेस्थेसिया’ चिकित्सकबिनै गर्छन ‘अप्रेसन’

जनकपुर । मधेसका मुख्यमन्त्री सतिस सिंहले जनकपुरमा निजी अस्पतालहरुको बारेमा डरलाग्दो खुलासा गरेका छन् ।

यहाँका निजी अस्पतालहरुले विरामीसंग गम्भीर लापारबाही गरिरहेको पाइएको मुख्यमन्त्री सिंहले एक भिडिओ संदेश जारी गर्दै खुलासा गरेका हुन ।

निजी अस्पतालहरुको छड्के अनुगमन अभियान अन्तर्गत गरिएको छड्केमा जनकपुरमा स्वास्थ्य क्षेत्रमा भयंकर लापरबाही रहेको पाइएको मुख्यमन्त्री सिंह बताउँछन् ।

शनिबार विहान मुख्यमन्त्री ‘सतिस सिंह नामक’ आफ्नो पेजमार्फत एक भिडिओ संदेश जारी गर्दै दुइ साता गरिएको अनुगमनमा पाइएको लापरबाहीबारे जानकारी गराएका छन् ।

उनले उक्त भिडिओमा जनकपुरका अधिकांश अस्पतालहरुमा एनेस्थेसिया चिकित्सकबिनै अप्रेसन हुने गरेको बताएका छन् ।

उनी भन्छन्, ‘जनकपुरको धेरै अस्पतालको अनुगमन गरे, तर त्यहाँ सबै गम्भीर लापरबाही रहेको पाइएको छ। जुन पहिलोपटक खुलासा गर्दैछु, त्यो हो–एनेस्थेसिया चिकित्सक बिनै अप्रेसन हुनु ।’

उनका अनुसार अप्रेसन कक्षमा विरामीहरुको शल्यक्रिया गर्दा एनेस्थेसिया चिकित्सक हुनुपर्ने अनिवार्य हो । तर जनकपुरका अधिकांश अस्पतालहरुमा त्यो चिकित्सकबिनै तालिम लिएकाहरुबाट अप्रेसन हुने गरेको पाइएको उनी बताउँछन् ।

उनी भनछन्, ‘अप्रेसनको बखत अनुगमनमा जाँदा अधिकांश अस्पतालमा एनेस्थेसियाको चिकित्सक पाइन, त्यहाँ नामको लागि मात्रै एनेस्थेसियाको चिकित्सकको नाम लेखिएको हुँदोरहेछ । तर भौतिकरुपमा अप्रेसन कक्षमा भने २÷४ महिना तालिम लिएकाहरुलाई राखिएको हुन्छ, अनि उसैको भरमा अप्रेसन हुँदोरहेछ ।’

यो भनेको आम जनताको स्वास्थ्यसंग गम्भीर खेलवाड भइरहेको उनी सुनाउँछन् । एसिस्टेन्टरको भरमा अस्पतालहरुले अप्रेसन गरिरहेको अनुगमनमा पाइएको उनको भनाइ छ ।

मूलतः यहीकारणले अप्रेसन गरिएका विरामीहरुको ‘रिकभरी’को समस्या रहेको पाइएको उनी बताउँछन् । त्यसकारण अस्पतालहरुमा देखिएका यी समस्याहरुबारे कडाइँका प्रदेश सरकार अगाडि बढ्ने उनको आश्वासन छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै