वीरगन्ज । मधेसका मुख्यमन्त्री सतिस सिंहले पछिल्लो समय ‘अप्रेसन अस्पताल’को अभियान तीव्र बनाएका छन् ।
अवैध तथा नीतिविपरीत सञ्चालित निजी अस्पतालहरुको नियमनका लागि मुख्यमन्त्री सिंहले अप्रेसन अस्पतालको अभियान सुरु गरेको जनाइएको छ ।
यहि माघ २६ गते प्रदेश राजधानी जनकपुरको मुस्कान हस्पिटलबाट यो अभियानको सुरुवात गरिएको हो । त्यसयता दर्ता तथा नवीकरण बिनै सञ्चालित अस्पतालहरुमा मुख्यमन्त्री सिंह नेतृत्वको टोली दिनहुँजसो छड्के अनुगमनमा छन् ।
दुइ साता अगाडिदेखि सुरु भएको ‘अप्रेसन अस्पताल’को अभियानले नियमविपरीत सञ्चालित अस्पतालहरु सञ्चालकहरुमा भागदौड मच्चिनुका साथै कतिपयको अस्पताल नै बन्द भइसकेका छन् ।
मुख्यमन्त्री रात होस् वा मध्यरात, विहान वा दिउँसो जुनसुकै समयमा छड्के गर्न पुग्दा अस्पतालहरुमा खैलाबैला मच्चिएको छ ।
मुख्यमन्त्रीको यो कदमले यहाँका जनतामा भने सकारात्मक सन्देश दिइरहेको छ । निजी अस्पतालविरुद्धको मुख्यमन्त्री सिंहको अनुगमनको कदमले प्रदेशभित्रको आम नागरिकमा सरकार रहेको आभास गराइरहेको छ, जुनकारणले अहिले चियाँ पसलदेखि लिएर सामाजिक सञ्जालका भित्ताहरुमासमेत मुख्यमन्त्री सिंहको कदमबारे वाहवाही भइरहेको छ ।
मुख्यमन्त्री सिंहले आफै एम्बुलेन्स चालक बनेर गरेको कुराकानीलाई सर्वसाधारणले झनै सराहना गरिरहेका छन् । यहीकारणले होला, मुख्यमन्त्री सिंहले पनि यो अभियानलाई प्रदेशभरि लैजाने तयारी गरेको स्रोतले जनाएको छ । दुइ साता अघिदेखि ‘अप्रेसन अस्पताल’को अभियान सुरु भएतापनि यो सातामा भने अभियानले आक्रामक हिसाबले प्रस्तुती जनाइरहेको छ ।
यो अभियान अन्तर्गत अहिलेसम्म प्रदेश राजधानी जनकपुरका ४० वटा निजी अस्पतालहरुमा मुख्यमन्त्री कार्यालयले अनुगमन गरिसकेको छ । यसैगरी फागुन ७ गते मुख्यमन्त्री सिंहले वीरगन्जका ७ वटा अस्पतालहरुमा छड्के अनुगमन गरे ।
उनले भवानी अस्पताल, प्रभु अस्पताल, नेपाल इन्डो अस्पताल, साह हस्पिटल, स्पर्श मल्टिस्पेटीलिटी अस्पताल, सर्वोत्तम हस्पिटल र गण्डक अस्पतालमा अनुगमन गरे ।
अनुगमन गरिएका अस्पतालहरुमध्ये लगभग आधी जतिको अस्पताल अवैधरुपमा सञ्चालित रहेको पाइएको मुख्यमन्त्री सिंह बताउँछन् । मधेससञ्चारसँग कुरा गर्दै उनी भन्छन्, ‘निजी अस्पतालहरुको काम कारवाहीबारे धेरै गुनासो आयो, त्यसपछि आफैँ निरीक्षण गर्ने योजना बनाए । एउटा योजना बमोजिम अस्पतालहरुमा हल्लै नहुने गरी छड्के गर्न पुगे, जब अस्पतालहरुको अनुगमनमा निस्के तब यो खेलबारे जानकार भए ।’
उनका अनुसार निजी अस्पतालहरुमा धेरै लापरबाही रहेको अनुगमनमा पाइयो । ‘अधिकांश दर्ता नै नगरी सञ्चालनमा रहेको भेटिएपछि सबैलाई बन्द गर्न लगाए,’ उनले भने । जनताको स्वास्थ्यसंग खेलवाड गर्ने जोकोहिलाई नछाड्ने तथा यसको जरैदेखि निर्मूल गर्ने गरी लागि लागिरहेको उनको भनाइ छ ।
कति अस्पताल बन्द ?
मुख्यमन्त्री सिंहले अनुगमनका गरेका निजी अस्पतालहरुमध्ये १६ वटा अस्पताल अवैधरुपमा सञ्चालन रहेको पाइएको छ ।
अवैधरुपमा सञ्चालन भएपछि मुख्यमन्त्री सिंहको निर्देशनमा ती अस्पतालहरु अहिले बन्द भएका छन् । यस्तै उनले वीरगन्जको नेपाल इन्डो अस्पताल समेत बन्द गर्न निर्देशन दिएका छन् ।
यसैगरी अन्य बन्द हुने अस्पतालहरुमा मुस्कान हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, अरमान हस्पिटल, सहयोग हस्पिटल, जनकपुर मोर्डन हस्पिटल एण्ड रिसर्च प्रालि, श्री माँ गायत्री मेमोरियल हस्पिटल, रामा मेमोरियल हस्पिटल प्रालि छन् ।
यसैगरी जनकपुर सिता हस्पिटल प्रालि, वि.एन. हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, ज्योति आँखा अस्पताल, न्यूरो सेन्टर, कृष्णा अस्पताल प्रालि, जनकपुर गोदावरी अस्पताल प्रालि, जनक मेमोरियल अस्पताल प्रालि, गिता श्री इ.एन.टि स्पेषिलिटि क्लिनिक, जनकपुर मोडेल अस्पताल प्रालिसहितकालाई सञ्चालनमा रोक लगाइएको मुख्यमन्त्रीकोे कार्यालयले जनाएको छ ।
बन्द गरिएका अस्पतालहरु सबै अवैध तरिकाले सञ्चालनमा रहेको पाइएपछि सञ्चालनमा रोक लगाइएको मुख्यमन्त्री तथा मनत्रीपरिषद्को कार्यालयले जनाएको छ ।
योसंगै जनकपुरमा रहेका कुल ८० वटा अस्पतालहरुमध्ये अहिलेसम्म ४० वटा अस्पतालको निरीक्षण गरिएको मुख्यमन्त्री सिंहले बताए । बाँकी अनुगमन गरिएका निजी अस्पतालहरु प्नि नवीकरण समयमा नभएको पाइएको उनले सुनाए ।
मुख्यमन्त्रीको टोलीले बन्द गरिएका अस्पतालसंगै जनकपुरका समर हस्पिटल, श्रीराम हस्पिटल, जनकपुर ग्राण्डी हस्पिटल, साइ माल्टि स्पेशिलिटि हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालि, ओम दिर्घायु हस्पिटल, मिहिलाल इन्टरनेशनल हस्पिटल, जनकपुर सुरक्षा अस्पतालको अनुगमन गरेको छ ।
योसंगै जनकपुर गोल्डेन हस्पिटल, जनकपुर मधेस हस्पिटल, श्री लाइफ केयर एण्ड रिसर्च सेन्टर, विनय तारा फाउण्डेसन तथा क्यान्सर सेन्टर, धनुषा अस्पताल प्रालि, जनकपुर सिटी हस्पिटल प्रालिमा अनुगमन गरिएको छ भने नव जीवन अस्पताल प्रालि, वैदेही अस्पताल र एड्भान्स सिटि एस्केन एण्ड डायगनोष्टिक सेन्टरमा मुख्यमन्त्रीको टोलीले अनुगमन गरेको थियो ।
यी १६ वटा अस्पतालहरु विधिपूर्वक दर्ता रहेपनि नवीकरण नभएको पाइएको मुख्यमन्त्रीको कार्यालयले जनायो । यस्तै वीरगन्जका समेत २ वटा अस्पतालहरु नवीकरण नभएका पाइएको छ । नविकरण नभएका यी अस्पतालहरुलाई २ महिनाभित्र आफ्नो सबै कागजात लिएर प्रदेशको स्वास्थ्य मन्त्रालयमा नवीकरण गराउन निर्देशन दिइएको छ ।
कति अस्पताल वैध ?
योबाहेक अनुगमन भएका अन्य ९ वटा अस्पतालहरु पनि छन् । जुन नीति नियमसंगतले सञचालित रहेको भेटिएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।
ती अस्पतालहरुमा पहिलो सूचिमा केयर मेडिकल सेन्टरको नाम रहेको छ । यसैगरी क्रमशः एपोलो हस्पिटल प्रालि, नैना हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, म्याक्स लाइफ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, स्वास्तिका हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, हिरा हस्पिटल एण्ड रिसर्च सेन्टरहरु नियमानुसार सञ्चालन रहेको पाइएको छ ।
यसैगरी न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर, श्री कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर प्रालि र जीवन ज्योति हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि भने नियमसंग सञ्चालनमा रहेको अनुगमनका क्रममा भेटिएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ । स्रोतका अनुसार यो अभियानलाई बुधबार (भोली) देखि राजधानीबाहिर लैजानै तयारी भइरहेको छ ।
प्रदेश सरकारको कमाण्डरको हैसियतले मुख्यमन्त्री सिंह स्वयम आफै स्वास्थ्य मन्त्रालयसहितको जम्बो टोली लिएर छड्के गरिरहेका छन् ।