वीरगन्ज । होटलमा महिलाहरुलाई अश्लिल कार्य गर्न लगाएको आरोपमा पर्साबाट दुइ जना पक्राउ परेका छन् ।
राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरुसँग अश्लिल कार्य गर्न लगाएको आरोपमा वीरगन्जबाट दुइ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बस्ने ४५ वर्षका गिनीलाल गुप्ता र भारत बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर वडा नम्बर ६बस्ने ४० वर्षका जयप्रकाश साह रहेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा सञ्चालित होटल स्मार्ट र न्यू शान्ती सैनिक होटलबाट उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता सुवास भट्टले बताए ।
उनका अनुसार यी दुइ होटलहरुमा यौनजन्य क्रियाकलाप हुने गरेको सूचना प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा होटलहरुमा छापा हान्दा दुइ जनालाई पक्राउ गरिएको उनको भनाइ छ ।
साथै प्रहरीले त्यस्ता कार्यमा संलग्न गराइएका चार जना महिलाको उद्दार समेत गरेको बताएको छ ।
पक्राउ परेकाहरुमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।