ट्रेन्डिङ

मधेस गृहमन्त्री लेखीको निरीक्षणमा सप्तरी एसपीको ‘ब्रिफिङ’, भने– हामीसंग ३ वटा मात्रै पिकअप छन्, गस्ती गर्न कठिनाइ भइरहेको छ

सप्तरी । मधेसका गृहमन्त्री राजकुमार लेखीले सप्तरी प्रहरी कार्यालयको निरीक्षण तथा अनुगनम गरेका छन् ।

गृहमन्त्री लेखीले आइतबार विहान सप्तरी प्रहरीको भौतिक अवस्था, बसोबासको अवस्था तथा सवारीसाधनको अवस्थाबारे अवलोकन गरेका हुन ।

निरीक्षणका क्रममा सप्तरी प्रहरीले कार्यालयमा सवारीसाधनको अभाव रहेको प्रदेशको गृहमन्त्रीलाई ‘ब्रिफिङ’ गरेको छ । मधेस प्रदेशका गृहमन्त्री लेखीलाइ प्रहरी प्रमुख डकेन्द्र खतिवडाले यस्तो ‘ब्रिफिङ’ गरेका हुन ।

प्रदेशका गृहमन्त्री लेखीले आफ्नो गृह जिल्लाको जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्न पुगेका थिए । सोही क्रममा सप्तरी प्रहरी प्रमुख खतिवडाले गृहमन्त्रीलाई सप्तरी जिल्ला प्रहरीको भौतिक अवस्था तथा चुनौतीहरुको बारेमा प्रस्तुती गर्दै ब्रिफिङ गरेका थिए ।

सप्तरी प्रहरी प्रमुख खतिवडाले भने, ‘आज विहान प्रदेशका गृहमन्त्रीज्यूको निरीक्षण थियो, उहाँ यही जिल्लाको पनि हो । त्यसकारण हामीले जिल्ला प्रहरी कार्यालयमा देखिएका चुनौतीहरु तथा भौतिक संरचनाको अवस्था र सवारीसाधनको बारेमा उहाँलाई जानकारी गराएका थियौं ।’

‘सप्तरी प्रहरीमा कुल ३ वटा पिकअप गाडी रहेकाले गस्ती तथा पेट्रोलिङ गस्तीमा समस्या आइरहेको गृहमन्त्रीज्यूलाई जानकारी गराइएको छ,’ एसपी खतिवडाले भने ।

उनका अनुसार सप्तरी जिल्लामा एसपी चढ्ने गाडीसहित कुल ३ वटा पिकअप गाडी रहेको छ । जुनकारण जिल्लमा गस्ती, पेट्रोलिङ तथा भिभिआइपी सुरक्षाका लागि सवारीसाधन उपलब्ध गराउन कठिनाइ हुने गरेको प्रहरी प्रमुख खतिवडाले गृहमन्त्री लेखीलाई सुनाएका थिए ।

योसंगै सप्तरी प्रहरीलाई भौतिक संरचनाको अवस्था पनि दयनीय रहेको ब्रिफिङ गरिएको थियो । सप्तरी प्रहरीको ब्रिफिङपछि गृहमन्त्री लेखीले प्रहरीको समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

आफू यही जिल्लाको भएकोले जिल्ला प्रहरी कार्यालयको समस्याबारे अवगत रहेको जनाउँदै गहृमन्त्री लेखीले भने, ‘केन्द्र सरकारले हामीलाई कुल ३० प्रतिशत बजेट मात्रै दिएको छ, त्यसकारण हामीले बजेटको हिसाबमा समस्या नै छ । तैपनि आवश्यकता अनुसार प्रदेश सरकारले प्रहरी सहयोग गर्नेछ ।’

गहृमन्त्री लेखीले सप्तरीमा प्रहरीको भवन निर्माण तथा केही सवारीसाधनका लागि चाँडै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनका अनुसार दुइ महिनाभित्रै सप्तरी प्रहरीमा गाडी अभावको समस्या तथा भौतिक संरचनाको समस्या समाधान हुने काम भइरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै