धनुषा । धनुषाको धनुषाधाम विद्युत् चोरीमुक्त नगरपालिका घोषित भएको छ । धनुषाधाम नगरपालिकाको आयोजना एवम् नेपाल विद्युत् प्राधिकरणको संयोजकत्वमा सो नगरपालिका विद्युत् चोरीमुक्त घोषित भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले उक्त नगरपालिकालाई शनिबार एक कार्यक्रमबिच विद्युत् चोरीमुक्त घोषणा गरेका हुन् ।
कार्यक्रममा धनुषाधाम नगरपालिका क्षेत्रमा बसोबास गर्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरणसमेत गरिएको छ । कार्यक्रममा बोल्दै कार्यकारी निर्देशा घिसिङले नगरपालिकाले आफ्नै प्रयास र पहलमा विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरी ठुलो चुनौती लिएको उल्लेख गरे ।
उनले विद्युत् चोरी गर्नु अपराध भएको भन्दै यसको नियन्त्रणका लागि गर्नुपर्ने कामहरूलाई उच्च प्राथमिकताका साथ गरिएको बताए ।
घिसिङले विद्युत् नै नपुगेका ठाउँहरूको खोजी गरी अहिले त्यस्ता ठाउँमा बसोबास गरिरहेका नागरिकहरूलाई विद्युत् पुर्याउन पहाडको टुप्पोदेखि मधेसका फाँट, कर्णाली र सुदूरपश्चिमका बिकट बस्तीहरूमा विद्युतीकरणको अन्तिम चरणका कामहरू चलिरहेको बताए ।