ट्रेन्डिङ

मुख्यमन्त्री सतिश सिंहले गरे मध्यरातमा ३ घण्टा कमला नदीको अनुगमन, १३ ट्याक्टरसहित पाँच जना चालक पक्राउ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मध्यरातमा कमला नदीको छड्के अनुगमन गरेका छन् ।

कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन् गरी चोरीनिकासी भइरहेको गुनासोका आधारमा धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७ स्थित पोर्ताहा क्षेत्रमा मुख्यमन्त्री सिंहले बुधबार मध्यरातमा अनुगमन गरेका हुन् ।

नदीजन्य पदार्थको अवैध तथा अनाधिकृत दोहनले पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा प्रतिकूल असर परिरहेको, मधेशको उर्वर भूमि मरुभूमिमा परिणत भइरहेको र सरकारलाई प्राप्त हुनुपर्ने राजस्व गुमिरहेको चिन्ताका बीच प्रदेश सरकार प्रमुख तहबाट त्यसविरुद्ध छड्के अनुगमन गरिएको यो पहिलो पटक हो ।

राष्ट्रिय वनक्षेत्र र सामुदायिक वन क्षेत्रमा रहेका खोलाबाट अवैध तथा अनुचित तवरमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् भइरहेको तथा अन्य ठाउँमा अनाधिकृत रूपले नदीजन्य पदार्थको दोहन भइरहेको खबर मुख्यमन्त्री सिंहले पाएका थिए । सोही सूचनालाई पछ्याउँदै मुख्यमन्त्री सिंहले जिल्लाका सुरक्षा अधिकारीहरूसहित बुधबार राति १२ बजेदेखि ३ बजेसम्म त्यस क्षेत्रमा छापामारी गरेका हुन् ।

मुख्यमन्त्री सिंह नेतृत्वको टोली मध्यरातमा त्यहाँ पुग्दा खैलाबैला मच्चिएको थियो । भने खोलाबाट ढुंगा, गिट्टी तथा बालुवा लगायत पदार्थ निकाल्न पुगेकाहरुबिच भागम्भाग मच्चियो ।

सो क्रममा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको अवस्थामा १३ टयाक्टर, दुईवटा बकेट र पाँच जना चालकलाई पक्राउ गरिएको धनुषा प्रहरीका डिएसपी वरुण कुमार सिंहले जनाए ।

मापदण्डविपरीत प्राकृतिक स्रोतको दोहनविरुद्घको खबरदारीका लागि यो कदम चालिएको मुख्यमन्त्री सिंहले बताए । उनका अनुसार यस्ता कार्यले प्राकृतिक सम्पदा नाश हुनुका साथै विपत्को जोखिम समेत बढेको छ ।

उनले राजमार्गभन्दा उत्तर र दक्षिणपट्टि कमला खोलालगायत अन्य नदीबाट मध्यरातमा अनाधिकृत रुपले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् भइरहेको व्यापक जनगुनासो आएपछि ‘एक्सन’ मा उत्रिएको प्रस्ट्याए ।

 

डिभिजन वन कार्यालय धनुषासँग सशस्त्र जनशक्ति अभाव, प्रहरी सुरक्षाकर्मीहरूको सहयोगमा कमी आदि कारणले ठूलो स्तरमा नियन्त्रणात्मक अभियान सञ्चालन नहुँदा स्काभेटर, बकेट आदि उपकरण प्रयोग गरी सयौँको सँख्यामा ट्याक्टरबाट नदीजन्य पदार्थको अवैध ओसारपसार हुने गरेको बताइएको छ ।

अनुगमन टोलीमा सहभागी धनुषाका प्रहरी प्रमुख एवम् उपरीक्षक भुवनेश्वर तिवारीले प्राकृतिक साधनस्रोतको अनाधिकृत दोहन गरेर गलत तरिकाले पैसा कमाउने प्रवृत्ति बढेको भन्दै यसविरुद्ध कडा एक्सन लिने बताए ।

उनले यस विषयमा जिल्ला अनुगमन समितिको बैठक बस्ने र अवैध तथा अनाधिकृत दोहन रोक्न आवश्यक थप कदम चालिने उल्लेख गरे ।

यसअघि डिभिजन वन कार्यालय धनुषाले गणेशमान नगरपालिका वडा नम्बर ७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग लगायतका स्थानीय क्रसर उद्योगीद्वारा पचासौँ ट्याक्टर परिचालन गरी रातबिरातको समयमा खोलाबाट जथाभाबी नदीजन्य पदार्थ दोहन गरिरहेको जनगुनासोपछि कानुनअनुसार मात्र नदीजन्य पदार्थ उत्खनन् व्यवस्थापन गराउन जिल्ला समन्वय समिति धनुषालाई आग्रह गरेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै