वीरगन्ज । सशस्त्र प्रहरी पर्साले सोमबार विहान बीरगन्जको आदर्शनगरस्थित एक ट्रन्सपोर्टको गोदाममा छापामारी ५० लाख भन्दा बढीको सामान बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले भन्सार छली ल्याइएको कपडा गोदाममा छापामारी उक्त सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी स्रोतका अनुसार नामुद तस्कर मदन गुप्ता ऊर्फ रुन्चेको रहेको छ । उनले महानगरपालिकाको वडा नम्बर–१० स्थित आदर्शनगरमा जय माँ दुर्गा करियरको नाममा चलाउँदै आएको गोदाम प्रहरीले छापा मारेको हो ।
सशस्त्र प्रहरीले करिब ५१ लाख रकम बराबरको अबैध कपडा र हार्डवेयरका सामान बरामद गरेको हो । सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले छापामारी बरामद कपडा आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा पठाएको सशस्त्र प्रहरी बलका प्रवक्ता नरेन्द्र धामीले बताए ।
स्थानीय प्रशासन तथा केन्द्रीय सत्तामा जस्तो सुकै बदलाव आएपनि मदन रुन्चेको अनधिकृत कारोवार कहिल्यै अवरुद्ध नभएको भाष्य स्थापित छ । स्थानीय प्रशासनले तस्करी रोकिएको दावी गरिरहेकै अवस्थामा रुन्चेको गोदाममा भएको छापामारीले धरै कुरा बोलेको छ ।
गत वर्षको चैत ८ गते नेपाल प्रहरीले रुन्चेको यही ट्रान्सर्पोटको गोदाममा छापामारी गरि १८ लाख रुपैया भन्दा बढीको अवैध कपडा बरामद गरेको थियो ।
त्यतीबेला रक्सौलबाट कपडा लोड गरेर वीरगन्जतर्फ आउदै गरेको अटोलाई प्रहरीले पछ्याएको थियो । तस्कर रुन्चेको गिरोहले दैनीक अटोमा कपडा र अन्य सामान भन्सार छलेर ल्याउने गरेको बताइन्छ ।