भारत। भारतको एक अदालतले किशोरीको सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
सन् २०२१ को जनवरीमा ती पुरुषले ती किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाइमा रहेका बेला मोटरसाइकलमा लिफ्ट दिई एकान्तमा लगी सामूहिक बलात्कार गरेका र परिवारका अन्य सदस्यले प्रतिरोध गर्न खोजेपछि सबै जनाको हत्या गरेका थिए ।
सरकारी वकिल सुनिलकुमार मिश्रले एएफपीलाई बताएअनुसार बलात्कार रोक्न खोज्दा किशोरीका बुबा र उनको तीन वर्षीया भतिजीको हत्या गरेका थिए ।
केही दिनपछि गाउँलेले अचेत अवस्थामा फेला पारेकी किशोरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
बलात्कार र तीन जनाको हत्यामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको मिश्रले बिहीबार बताए । छैटौं व्यक्तिलाई ‘अपराधमा संलग्न भएको अभियोगमा दोषी ठहर गरियो, तर बलात्कारमा उसको संलग्नता प्रमाणित भएन, त्यसैले उसलाई हत्या अभियोगमा आजिवन जेल सजाय सुनाइएको’ उनले बताए ।
भारतमा मृत्युदण्डको व्यवस्था भएपनि व्यवहारमा यो विरलै दिइने सजाय हो ।