ट्रेन्डिङ

प्रदेशले थुप्रै अधिकार नपाएको मधेसका मुख्यमन्त्रीको गुनासो

शहिदका लागि ३ करोड बजेट

जनकपुरधाम । मधेस सरकारका मुख्यमन्त्री सतिश सिंहले प्रदेशले थुप्रै अधिकारहरु नपाएको गुनासो गरेका छन् ।

जनकपुरको महेन्द्रनारायण निधी भवनमा आयोजित ७ औं बलिदानी दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो गुनासो गरेका हुन् ।

उनका अनुसार मधेस आन्दोलनमा शहिदले दिएको बलिदानीका कारण देश संघीयतामा गएको छ, धेरै उपलब्धीहरु भएका छन् । तर कैयौँ अधिकारबाट प्रदेश वञ्चित बनेको उनको गुनासो छ 

उनी भन्छन्, ‘संविधानमा धेरै अधिकारको सुनिश्चित गरिएको छ, तर अझै हामी धेरै अधिकारबाट बञ्चित नै छौं । ठूला उद्योगहरु हामी सञ्चालन गर्न पाउँदैनौं, किनकी यसको संघ सरकारबाट स्वीकृति पाउने नीति छ ।’ उनका अनुसार प्रदेशको अधिकार धेरै कुण्ठित गरिएको छ ।

उनले भने, ‘हामी खडा त छौँ, तर हात, खुट्टा, मुख संघ सरकारले बाँधेको छ । सोही कारण हरेक कुरामा सिंगो निर्णय गर्न सक्दैनौँ । तरपनि हामीले यसमै चित्त बुझाएर बसेका छौँ । किनकी हामीलाइ त खडा हुन त दिइएको छ ।’ त्यस मानेमा यो उपलब्धी नै भएको मुख्यमन्त्री सिंहको भनाइ छ ।

कार्यक्रममा बोल्दै उनले प्रदेशमा शिक्षाको अवस्था चिन्ताजनक रहेको टिप्पणी गरेका थिए । उनले भने, ‘शिक्षा क्षेत्रमा पहिले मधेसको अवस्था राम्रो थियो, गणित, अंग्रेजी जस्ता विषयमा मधेस अग्रस्थानमा थियो । तर सुनियोजित ढंगले शिक्षाको अवस्था बर्बाद पारियो । अभिभावकहरुले पनि घरमा आ–आफ्नो बच्चासँग प्रश्नोत्तर गर्नै छोडे । विद्यालयको शिक्षामा मात्र भर पर्न थाले ।’

शहीदका लागि ३ करोड बजेट

मुख्यमन्त्री सिंहले यो वर्ष शहीद परिवार तथा घाइतेहरुका लागि प्रदेश सरकारले ३ करोड ६१ लाख रुपैयाँ छुटयाएको जनाए ।

उनका अनुसार शहीद परिवारलाई प्रदेश सरकारले जनही ३ लाख दिने निर्णय भएको छ ।

यसैगरी गम्भीर घाइते भएकाहरुलाई जनही २ लाख, त्यसपछिका घाइतेहरुलाई क्रमशः जनही डेढ लाख र एक लाख रुपैयाँ दिने निर्णय भएको मुख्यमन्त्री सिंहले बताए ।

यसको साथै शहीद परिवारका लागि बीमा कार्यक्रम तथा बच्चाहरुको उच्च शिक्षाका लागि छात्रवृतिको कार्यक्रम पनि समेत अघि सारिएको उनले प्रष्टयाए ।

कार्यक्रममा सभामुख रामचन्द्र मण्डल, शिक्षा मन्त्री रानी शर्मा तिवारी, गृहमन्त्री राजकुमार लेखी, खेलकुद मन्त्री प्रमोद जैसवालसहितको सहभागीता थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै