वीरगन्ज । विद्यार्थीलाई संविधान कानुन र मौलिक हकबारे जानकारी गराउने उद्देश्यले सञ्चालन हुँदै आएको ‘लिगल भ्वाइस क्याम्पेन’को चौथो संस्करण पर्सा जिल्लाबाट सुरु भएको छ ।
तराई मधेश कानुन विद्यार्थी समाजले मधेश प्रदेशसहित तराईका विभिन्न जिल्लामा विगत चार वर्षदेखि सञ्चालन गर्दै आएको अभियानअन्तर्गत पर्सामा कात्तिक ९ गतेदेखि कानुनी सचेतनामूलक कार्यक्रम सुरु गरिएको हो ।
अभियानको पहिलो दिन पर्साका चारवटा विद्यालयमा ६ वटा सचेतनामूलक सत्र सञ्चालन गरिएको पर्सा टिमका संयोजक रवि मिश्रले जानकारी दिए ।
उनका अनुसार पहिलो दिनको कार्यक्रममा २५० भन्दा बढी विद्यार्थीलाई कानुनी विषयमा जानकारी प्रदान गरिएको छ ।
साउथजोन सेकेन्डरी स्कुलमा तीनवटा सत्र सञ्चालन गरिएको थियो ।
त्यस्तै गोल्डेन फ्युचर सेकेन्डरी स्कुल, हिमालयन पिरामिड सेकेन्डरी स्कुल र मेरिगोल्ड सेकेन्डरी स्कुलमा एक–एकवटा सत्र सञ्चालन गरिएको मिश्रले बताए ।
कार्यक्रममा टिम पर्साका स्रोत व्यक्ति रवि मिश्र, किरण गुप्ता, आदर्श गुप्ता, अलोक शर्मा, जय गुप्ता, सुरज शाह, रोशन यादव र प्रियंका शाहले सहजीकरण गरेका थिए ।
अभियानमार्फत विद्यार्थीलाई नेपालको संविधान, मौलिक हक, कानुनी व्यवस्था, नागरिकका अधिकार तथा कर्तव्यबारे जानकारी गराइँदै आएको छ ।
यसका साथै विद्यार्थीको क्षमता अभिवृद्धि, नेतृत्व विकास, संसदीय अभ्यास तथा लोकतान्त्रिक प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्ने लक्ष्यसमेत अभियानले लिएको छ ।
कानुनी शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी विद्यार्थीलाई दैनिक जीवनमा कानुनको महत्त्व र प्रयोगबारे बुझाउने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
कानुनी रूपमा सचेत, जिम्मेवार र सक्षम नागरिक निर्माणमा योगदान पुर्याउनु अभियानको मुख्य लक्ष्य रहेको समाजको भनाइ छ ।
पहिलो दिनको कार्यक्रममा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएपछि पर्साका अन्य विद्यालयमा समेत अभियानलाई निरन्तरता दिने तयारी गरिएको छ ।
आगामी दिनमा जिल्लाका विभिन्न विद्यालयमा कानुनी सचेतनामूलक सत्र सञ्चालन गरी विद्यार्थीमाझ कानुनी ज्ञान विस्तार गर्ने लक्ष्य टिम पर्साले लिएको छ ।