ट्रेन्डिङ

बन्द विद्यालय, बन्द हुँदै गएको भविष्य

-मुनीलाल बैठा, शिक्षाविद

वीरगन्ज । आज बिहान म मर्निङ वाकमा निस्कँदा एउटा सानो तर अर्थपूर्ण परिवर्तनले ध्यान खिच्यो।

हाम्रो नियमित समूहमा प्रायः आठ जना सहभागी हुने गर्छौं, जसमा करिब ८० प्रतिशत शिक्षकहरू छन्।

तर आज समूहमा आधाभन्दा कम मात्र उपस्थित थिए।

कारण बुझ्दा एक जना सरले सहजै भन्नुभयो— “आजदेखि विद्यालय बन्द छ, सबै ढिलोसम्म सुतिरहेका होलान्।”

फर्कँदै गर्दा समूहकै अर्को शिक्षक बाटोमा भेटिनुभयो।

ढिलाइको कारण सोध्दा उहाँले पनि हाँस्दै जवाफ दिनुभयो— “विद्यालय बन्द भएपछि आज अलि आराम गरियो।”

यसले विद्यालय बन्द हुँदा शिक्षकहरूको दैनिक दिनचर्यामा समेत परिवर्तन आउने स्पष्ट देखायो।

सडकको दृश्य पनि आज फरक थियो। मौसम चिसो हुँदाहुँदै पनि बिहान महिलाहरूको उपस्थिति अन्य दिनको तुलनामा केही बढी देखिन्थ्यो।

कुरा गर्दा थाहा भयो— विद्यालय बन्द भएकाले बालबालिका घरमै छन्, बिहानको हतार कम छ, खाना–नास्ताको चाप घटेको छ। विद्यालय बन्दले गृहिणीहरूलाई केही समयको फुर्सद दिएको रहेछ।

तर सबैका लागि अनुभव उस्तै रहेन।

एक जना अभिभावकले विद्यालय बन्द भएपछि आफू फेसबुक र युट्युब चलाउन नपाएको गुनासो गर्नुभयो।

बालबालिकाले दिनभर मोबाइल माग्ने, नदिँदा झगडा हुने भएकाले मोबाइल प्रयोग गर्नै मुस्किल भएको उहाँको भनाइ थियो।

त्यसैबीच, अर्का एक शिक्षकले विद्यालय बन्द हुँदा छेउको खाली जग्गा क्रिकेट मैदान बनेको, बल लागेर घरको सिसा फुट्ने र दिनभर होहल्ला हुने गरेको समस्या सुनाउनुभयो।

बालबालिकाहरू भने विद्यालय जान नपाएको अवस्थालाई ‘भाग्य’ ठानेर रमाइरहेका देखिन्छन्।

यसरी विद्यालय बन्द हुँदा कसैलाई सुविधा, कसैलाई असुविधा देखिन्छ।

तर सबैभन्दा गम्भीर प्रश्न भने प्रायः ओझेलमा पर्छ— यसले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा के असर पारिरहेको छ?

चिन्ताजनक तथ्यांक

सन् २०२४ मा गरिएको एक अध्ययनले कक्षा २ र ३ का विद्यार्थीहरूको आधारभूत पढाइ सीप नेपालभर औसतमा ३७.१ प्रतिशत मात्र रहेको देखाएको छ।

प्रदेशगत तथ्यांक झनै चिन्ताजनक छन्—
मधेश प्रदेशमा १२.२ प्रतिशत, कोशीमा ३९.९, गण्डकीमा ६१.९, लुम्बिनीमा ४१.४, बागमतीमा ४६.१, कर्णालीमा ४६.८ र सुदूरपश्चिममा ३९.१ प्रतिशत।

व्यावहारिक गणितीय सीपको अवस्था पनि फरक छैन।

नेपालभर औसत ३०.६ प्रतिशत मात्र रहेको छ, जहाँ मधेश प्रदेश १५.५ प्रतिशतमै सीमित देखिन्छ।

यी तथ्यांकले देशको समग्र सिकाइ उपलब्धि अत्यन्त कमजोर अवस्थामा रहेको स्पष्ट संकेत गर्छ।

पहुँचका हिसाबले अगाडि देखिए पनि सिकाइ उपलब्धिमा मधेश प्रदेश सबैभन्दा पछाडि पर्नु गम्भीर चिन्ताको विषय हो।

विद्यालय बन्द : सजिलो समाधान कि दीर्घकालीन समस्या?

वीरगञ्ज महानगरपालिका शिक्षक महासङ्घका अध्यक्ष प्रदीप जयसवालका अनुसार, शीतलहर, लू, हैजा, बन्द–हडतालजस्ता कारणले बारम्बार विद्यालय बन्द हुनु नै मधेश प्रदेशमा कमजोर सिकाइ उपलब्धिको प्रमुख कारण हो।

नियमअनुसार वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने र कम्तीमा १९२ दिन पठनपाठन हुनुपर्ने व्यवस्था भए पनि व्यवहारमा त्यो पूरा हुन सकेको छैन।

यसको प्रत्यक्ष असर विद्यार्थीको सिकाइमा परिरहेको छ।

तत्कालीन उपाय

मौसमजन्य प्रकोपका कारण विद्यालय बन्द गर्नुपर्ने अवस्था आए पनि सिकाइ पूर्ण रूपमा रोकिनु हुँदैन।
• कक्षाकोठाका झ्याल–ढोका मर्मत,
• तातोपानीको व्यवस्था,
• बाक्लो कपडा लगाउन प्रेरणा,
• समयतालिका छोट्याएर भए पनि कक्षा सञ्चालन
जस्ता उपाय तत्काल अपनाउन सकिन्छ।

विद्यालय बन्द गर्नैपर्ने अवस्थामा विद्यार्थीको घरमै “सिकाइ कुना” स्थापना गर्न प्रेरित गर्नुपर्छ।

२–३ दिनका लागि गृहकार्य, सीमित समयका लागि विद्यालय खोल्ने, अनलाइन कक्षा, सामाजिक सञ्जालमार्फत शैक्षिक गतिविधि सञ्चालन गरेर सिकाइ क्षति न्यूनिकरण गर्न सकिन्छ।

दीर्घकालीन उपाय

दीर्घकालीन रूपमा विद्यालय संरचनालाई मौसममैत्री बनाउनु अनिवार्य छ।
• न्यानो र सुरक्षित कक्षाकोठा,
• बहुउद्देश्यीय भवन,
• मौसमअनुकूल मापदण्ड
जस्ता संरचनागत सुधार आवश्यक छन्।

साथै, मौसमी पात्रोअनुसार पठनपाठन र मूल्याङ्कन प्रणाली विकास गर्नुपर्छ।

आपतकालीन शिक्षण निरन्तरता योजना प्रत्येक विद्यालयमा अनिवार्य हुनुपर्छ।

निष्कर्ष

विद्यालय बन्द समस्याको सजिलो समाधान होइन, अन्तिम विकल्प मात्र हुनुपर्छ।

तत्काल केही सुविधा देखिए पनि यसको दीर्घकालीन असर विद्यार्थीको सिकाइ उपलब्धिमा गहिरो र नकारात्मक हुन्छ।

त्यसैले, तत्कालीन वैकल्पिक उपाय र दीर्घकालीन संरचनागत सुधारलाई सँगसँगै अघि बढाउँदै शिक्षण–सिकाइ प्रक्रियालाई निरन्तरता दिनु आजको आवश्यकता हो।

मौसमजन्य प्रकोपलाई चुनौती होइन, अवसरमा रूपान्तरण गर्दै लचिलो, समावेशी र निरन्तर शिक्षा प्रणाली निर्माण गर्नु नै दिगो समाधान हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै