काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ धन, ऐश्वर्य र समृद्धिकी अधिष्ठात्री देवी लक्ष्मीको भक्तिभावपूर्वक आराधना गर्दै लक्ष्मीपूजा देशभर धुमधामसाथ मनाइँदै छ ।
धार्मिक विश्वासअनुसार लक्ष्मीलाई धन र सम्पन्नताको देवीका रूपमा पूजा गरिन्छ ।
यस अवसरमा बिहानैदेखि घर–आँगन, झ्यालढोका र वरिपरिका स्थानहरू सफा गर्ने र फूलमालाले सजाउने चलन छ ।
सफा र उज्यालो घरमा मात्र लक्ष्मीको बास हुने जनविश्वासका कारण आज घर-परिवारको विस्तृत सरसफाइ गरिन्छ ।
श्रद्धालुहरूले दिनभर उपवास बसेर बेलुका दीपावली गरी स्नानसहित लक्ष्मीको विभिन्न आठ रूप– धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, विद्यालक्ष्मी, विजयलक्ष्मी, ऐश्वर्यलक्ष्मी र धैर्यलक्ष्मीको पूजा आराधना गर्छन् ।
स्कन्द पुराण, पद्य पुराण र विष्णु पुराणमा उल्लेख भएअनुसार यी रूपहरूले जीवनका आर्थिक, ज्ञान, शक्ति, परिवार, सफलता, धैर्य, खेती र विजयका पक्षहरूलाई प्रतिनिधित्व गर्छन् ।
कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ पनि भनिन्छ ।
यस दिन बेलुका गाईको गोबर र रातो माटाले आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म लिपपोत गरी चामलको पीठो र अबीरले लक्ष्मीको पाइला कोरिन्छ ।
केराको सुत्लो वा माटाको पालामा दियो बालेर देवीको आगमन मार्ग देखाइने गरिन्छ ।
दीपावलीपछि पूजा कोठामा लक्ष्मी, गणेश र कलश स्थापना गरी सुनचाँदीका गरगहना, पैसा, धान, चामल, फलफूल र सेलरोटी अर्पण गरी पूजा गरिन्छ ।
आरती र मन्त्रपाठपछि परिवारका सबै सदस्यले प्रसादस्वरूप फलफूल र मिठाई ग्रहण गर्छन् । कन्या तथा छोरी–चेलीलाई लक्ष्मीको प्रतीक मान्दै पूजा गरी दक्षिणा दिने परम्परा पनि रह आएको छ ।
पूजा सम्पन्न भएपछि घरबाट पैसा वा कुनै सामान बाहिर नपठाउने चलन छ, किनभने यसो गर्दा लक्ष्मी बाहिर जाने विश्वास गरिन्छ ।
मध्यरातमा घरकी नारीहरूले नाङ्लो ठटाउँदै ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्’ भन्दै शुभकामना गर्ने परम्परा रहेको छ ।
धार्मिक ग्रन्थअनुसार समुद्र मन्थनका क्रममा अमृत कलश हातमा लिएर देवी लक्ष्मी प्रकट भएकी थिइन् र त्यो दिन यिनै कार्तिक औँसीको रात परेकोले यसै दिनदेखि लक्ष्मीपूजाको परम्परा सुरु भएको मानिन्छ ।
लक्ष्मीलाई केवल धनकी देवी मात्र होइन, शुद्धता, सकारात्मकता र कर्मशीलताको प्रतीकका रूपमा पनि व्याख्या गरिन्छ ।
समृद्धि र शुभकामनाको प्रतीकका रूपमा मनाइने लक्ष्मीपूजा आत्मिक तथा आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण पर्व मानिन्छ ।