वीरगन्ज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धविराम गर्ने आफ्नो २० बुँदे प्रस्ताव मा प्रतिक्रिया दिन हमासलाई ‘तीन वा चार दिन’को अल्टिमेटम दिएका छन्।
उनले यो योजना इजरायल र अरब नेताहरूले पहिल्यै स्वीकार गरिसकेको दाबी गरेका छन्।
मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हमासले यो स्वीकार्न पनि सक्छ र नस्वीकार्न पनि। नस्वीकारे दुःखद अन्त हुनेछ।’ उनले वार्ताको लागि ‘धेरै ठाउँ नरहेको’ पनि स्पष्ट पारेका छन्। ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई योजना स्वीकार गरेकोमा धन्यवाद दिए।
ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको २० बुँदे दस्तावेजमा गाजामा तत्काल युद्धविराम, हमासको कब्जामा रहेका इजरायली बन्दी र इजरायली जेलमा रहेका प्यालेस्टिनीबीच साटफेर, र चरणबद्ध इजरायली सेना फिर्ता लगायतका बुँदाहरू छन्।
योजनाअनुसार हमासले हतियार त्याग्नुपर्नेछ र गाजाको शासनमा उसको कुनै भूमिका रहनेछैन। यसको सट्टा अमेरिकाले अरब तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर गाजामा ‘अस्थायी अन्तर्राष्ट्रिय स्थिरीकरण बल’ पठाउनेछ। यसमा गाजामा अस्थायी टेक्नोक्र्याट सरकार गठन गर्ने र विस्थापितहरूको पुनर्वासको आश्वासन पनि समावेश छ।
हमास आफ्नो राजनीतिक र सैन्य नेतृत्वभित्र ट्रम्पको योजनाको समीक्षा गरिरहेको प्यालेस्टिनी स्रोतहरूले जनाएका छन्। कतारका प्रधानमन्त्रीले योजनाका केही बुँदामा थप स्पष्टता र वार्ता आवश्यक रहेको बताएका छन्।
यता, प्यालेस्टाइनको फतह दलले अमेरिकी प्रयासलाई स्वागत गरे पनि वरिष्ठ नेता अब्बास जकीले यसलाई ‘आत्मसमर्पणको दस्तावेज’ भन्दै आलोचना गरेका छन्। उनले यसलाई स्वीकार्नु भनेको ‘अपमानलाई चिरस्थायी बनाउनु’ हुने चेतावनी दिएका छन्। अलजजीराका पत्रकारहरूले ट्रम्पको योजनालाई ‘प्रस्ताव होइन, अल्टिमेटम’को संज्ञा दिएका छन्।
यो अमेरिकी पहल गाजा–इजरायल युद्ध दुई वर्ष पुग्न लाग्दा आएको हो, जहाँ प्यालेस्टिनी मृतकको संख्या ६६ हजार नाघिसकेको छ। मानवीय सङ्कट अझै गहिरिँदै जाँदा गाजामा १७ हजार बालबालिका गम्भीर कुपोषणबाट पीडित रहेको र अनिकाल तथा कुपोषणबाट ४५३ जनाको मृत्यु भएको चिकित्सा स्रोतले जनाएको छ।