ट्रेन्डिङ

उपसभामुखलाई हटाउन दुई तिहाई बहुमत पुर्‍याउन सत्ता गठबन्धनको कसरत सुरु

वीरगन्ज । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेपछि त्यसका लागि आवश्यक पर्ने दुईतिहाइ बहुमत जुटाउने कसरत सुरु भएको छ।

उपसभामुख इन्दिरा राना अमेरिका भ्रमणमा छिन् । उनको सचिवालयका अनुसार उनी गत साउन ३० गते अमेरिका गएकी हुन् । यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ । उपसभामुख राना व्यक्तिगत भ्रमणमा गएको सचिवालयले जनाएको छ ।

राना अमेरिका रहेकै बेला नेपालमा उनलाई पदबाट हटाउने तयारी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले रानालाई पदबाट हटाउनको लागि हस्ताक्षर संकलन सुरु गरेका छन् ।

प्रतिनिधिसभाको नियमावलीअनुसार उपसभामुखलाई हटाउन १८३ जना सांसदको समर्थन आवश्यक पर्नेछ, जुन सत्ता गठबन्धनका लागि सहज देखिँदैन।

प्रतिनिधिसभा नियमावलीको नियम २१० अनुसार, सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सदनमा पेस गर्न तत्काल कायम रहेको सदस्य संख्याको एक चौथाइ, अर्थात् ६९ जना सांसदको समर्थन आवश्यक पर्छ। तर, पदबाट हटाउने प्रस्ताव पारित हुन भने सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमत चाहिन्छ।

हाल प्रतिनिधिसभामा २७४ जना सांसद बहाल छन्। यसअनुसार उपसभामुखलाई हटाउन १८३ जना सांसदको समर्थन आवश्यक पर्छ।

सत्ता गठबन्धनमा रहेका प्रमुख दुई दल नेपाली कांग्रेस (८८) र नेकपा एमाले (७९) को कुल संख्या जोड्दा १६७ मात्र पुग्छ। यसको अर्थ, उपसभामुखलाई हटाउन उनीहरूलाई थप १६ जना सांसदको साथ आवश्यक पर्नेछ।
कांग्रेस र एमालेले आफूलाई आवश्यक पर्ने थप १६ सांसदका लागि अन्य साना दलहरूसँग छलफल गरिरहेको बुझिएको छ। सत्तापक्षमा रहेका जनता समाजवादी पार्टी (७), जनमत पार्टी (६), लोकतान्त्रिक समाजवादी पार्टी (४) र नागरिक उन्मुक्ति पार्टी (४) का सांसदहरूको सहयोगले यो संख्या पुग्न सक्छ।

यसको विपरीत, प्रमुख प्रतिपक्षी दलहरू माओवादी केन्द्र (३२), रास्वपा (२१), राप्रपा (१३) र नेकपा एकीकृत समाजवादी (१०) उपसभामुखलाई हटाउने कदमको विपक्षमा उभिन सक्ने सम्भावना छ। यसले सत्ता गठबन्धनका लागि दुईतिहाइ बहुमत जुटाउने प्रक्रिया थप जटिल बनाउनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै