ट्रेन्डिङ

रौतहटमा जन्माष्टमी मेलाको उद्घाटन विवादः मेयरसहित तीन घाइते, तीन पक्राउ

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–९, धरहरीमा श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबीच भएको झडपमा मेयरसहित तीन जना घाइते भएका छन्।

झडपमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। श्रीराम जानकी ब्रह्माबाबा मठमा आयोजित मेला उद्घाटनका लागि मेयर प्रेमलाल साह पुगेका थिए। सोही क्रममा स्थानीय रामविनोद साहको समूहले उद्घाटनको विरोध गर्दै अवरोध गरेपछि दुवै पक्षबीच हानाहान भएको थियो।

घटनालाई नियन्त्रणमा लिने प्रयास गर्दा देवाही गोनाहीका मेयर प्रेमलाल साहसँगै इलाका प्रहरी कार्यालयका प्रहरी जवानहरू धनसुन्दर ठाकुर र जगदीश यादव घाइते भएका हुन्। उनीहरूको गरुडास्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले दिएको जानकारीअनुसार, घटनामा संलग्न रहेको आरोपमा रामविनोद साह, उनका १६ वर्षीय छोरा ऋतिक साह र भाइ राधामोहन साहलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ।

यो घटनालाई स्थानीय राजनीतिक प्रतिद्वन्द्विता र सामाजिक प्रतिष्ठाको विषय मानिएको छ। धार्मिक तथा सांस्कृतिक पर्वहरूमा समेत राजनीतिकरण हावी हुँदा यस्ता अप्रिय घटनाहरू हुने गरेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै